• ६ वैशाख २०८२, शनिबार

‘टुवाइसी’ को भरमा प्रहरी सङ्गठन

blog

काठमाडौँ, वैशाख ४ गते । नेपाल प्रहरीका महत्त्वपूर्ण छ वटा विभाग झन्डै एक महिनादेखि टुवाइसी (सेकेन्ड इन कमान्ड) ले नेतृत्व गरिरहेका छन् । प्रहरीमा एआइजी बढुवा विलम्ब हुँदा मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टुवाइसी अर्थात् प्रहरी नायब महानिरीक्षक (डिआइजी) को भरमा पुगेका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का तत्कालीन प्रमुख एआइजी दीपक थापा प्रहरी महानिरीक्षक नियुक्त हुनुभएदेखि ब्युरोमा एआइजीको नेतृत्व हुन सकेको छैन । त्यसै गरी ३० बर्से सेवा अवधिका कारण एआइजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई अवकाशमा जानुभएपछि यी विभागमा पनि एआइजीको नेतृत्व हुन सकेको छैन । सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ लाई सङ्गठन सञ्चालनको मुख्य अङ्गका रूपमा लिने गरिन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले रिक्त रहेको एआइजी बढुवाका लागि प्रहरी प्रधान कार्यालयले आवश्यक प्रव्रिmया अघि बढाइसकेको जानकारी दिनुभयो ।

आचार्यले भन्नुभयो, “बढुवाका लागि हामीले प्रव्रिmया अघि बढाइसकेका छौँ, यसबारे सम्बन्धित निकायबाट छिट्टै निर्णय होला ।” लामो समयसम्म प्रहरीका उच्च पदहरू खाली हुँदासमेत बढुवा प्रव्रिmया अघि बढ्न सकेको छैन । 

प्रहरी नियमावलीमा एआइजी बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव (सदस्य) र प्रहरी महानिरीक्षक (सदस्यसचिव) रहने व्यवस्था छ । 

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले एआइजी बढुवाका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी नियमावलीले एआइजी बढुवाको क्षेत्राधिकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्लाई तोकेको छ । बढुवा समितिको सिफारिसमा मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । अब छिट्टै निर्णय होला ।” 

उहाँले एआइजी बढुवा नहुँदा पनि चेन अफ कमान्डलगायत शान्ति सुरक्षा, अपराधको रोकथाम तथा अपराध अनुसन्धानमा असर नपुग्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । बढुवा सिफारिस समितिको बैठक गत एक महिनामा एक पटक मात्र बसेको छ । बैठकले एआइजी बढुवाका लागि सिफारिस भने गर्न सकेन । 

नेपाल प्रहरीतर्फ हाल आठ जना एआइजीको दरबन्दी कायम छ । एआइजीले नेतृत्व गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाहेक प्रहरीका सबै विभागमा डिआइजीले नेतृत्व गरिरहेका छन् । 

नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी हेमन्त मल्लले नियमित रूपमा हुनुपर्ने सरुवा बढुवा ढिलाइ हुँदा अनेक शङ्का उब्जिने र त्यसको प्रत्यक्ष असर दैनिक कार्यसम्पादनमा पर्ने बताउनुभयो । ऐन कानुनले सुरक्षा निकायलगायत हरेक राष्ट्रसेवक कर्मचारीको काम, कर्तव्य र अधिकार तोकेको हुने बताउँदै मल्लले भन्नुभयो, “कतिपय विभागमा नेतृत्वले गर्नुपर्ने काम दोस्रो तहका अधिकारीलाई गर्न कठिन हुन्छ । कानुनले नै नदिएको जिम्मेवारी वहन गर्दा आइपर्न सक्ने जोखिमबाट हच्किने सम्भावना हुँदा त्यसको असर चेन अफ कमान्डमै पर्न सक्छ ।” 

तीन समूहबिच प्रतिस्पर्धा 

प्रहरीमा रिक्त रहेको छ वटा एआइजी पदका लागि तीन समूहबिच प्रतिस्पर्धा हुने देखिएको छ, जसमध्ये विव्रmम संवत् २०५२ मा भर्ना हुनुभएको चन्द्रकुवेर खापुङ र लालमणि आचार्य, विसं २०५४ मा भर्ना हुनुभएका दानबहादुर कार्की, डा. मनोज केसी, राजन अधिकारी तथा २०५३ भर्ना हुनुभएका कृष्णहरि शर्मा, सिद्धिविक्रम शाह र सुशीलसिंह राठौरबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।