• ६ वैशाख २०८२, शनिबार

सर्प दंश उपचार केन्द्रलाई सेवाग्राहीको सहयोग

blog

वाटर फिल्टरको उद्घाटन गर्दै । तस्बिरः जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, वैशाख ३ गते ।
कपिलवस्तुको सर्प दंश उपचार केन्द्रलाई सेवाग्राहीहरूले सामग्री सहयोग गरेका छन् । केन्द्रमा उपचारपछि निको हुनु भएकी बाणगंगा नगरपालिका १, वैरियाकी यमकला थापा मगरले एक लाख ६० हजार रुपियाँ बराबरको वाटर फिल्टर सहयोग गर्नुभएको छ ।

उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार, यमकलाले ससुरा बलबहादुर थापा मगरको स्मृतिमा उक्त सहयोग गर्नुभएको थियो । वाटर फिल्टरको सहयोगले उपचार केन्द्रमा आउने बिरामीहरूलाई स्वच्छ पानी पिउन सहज हुनेछ । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले यमकलाले उपचारका क्रममा पसलबाट पानी किन्नु परेको अनुभवपछि फिल्टर सहयोग गर्ने निर्णय लिएको जानकारी दिनुभयो ।

त्यस्तै, बुद्धभूमि नगरपालिका–४ का मौरीपालक कृषक रामप्रसाद खनालले ५० हजार रुपियाँ बराबरका दुईवटा बिरामी जाँच बेड सहयोग गर्नुभएको छ । सहयोगदाताप्रति आभार व्यक्त गर्दै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले यस्ता सहयोगले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च हुने बताउनुभयो । सहयोगदाताहरूलाई सम्मान पत्र प्रदान गरिएको बुद्धभूमि नगरपालिका–२ का वडा अध्यक्ष सुरज प्रताप राणाले जानकारी दिनुभयो ।