सलिम मियाँ
बिजुवार, वैशाख ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले लुम्बिनी प्रदेशका स्थानीय तहहरूबाट परेका उजुरीहरूको सङ्ख्या उल्लेख्य रहेको जनाएको छ । बुधबार सरुमारानी गाउँपालिका, प्युठानमा आयोजित स्थानीय तहस्तरीय अन्तरक्रियामा आयोगले उजुरी दर्ता, फछ्याैट र बाँकी मुद्दाबारे जानकारी दिएको हो ।
आयोगको बुटवलस्थित कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-८० मा १ हजार ५ सय २३ उजुरी दर्ता भएका थिए, जसमध्ये १ हजार ५१ उजुरी फछ्याैट भएका छन् । बाँकी चार सय ७२ उजुरी आर्थिक वर्ष ०८०-८१ मा सारिएका थिए । त्यस वर्ष २ हजार १ सय ८५ उजुरी परेका थिए, जसमध्ये १ हजार ७ सय ५१ उजुरी फछ्याैट भएका थिए भने अघिल्लो वर्षबाट सरेका ४ सय ३४ उजुरीसहित चालु आर्थिक वर्ष २०८१-८२ को वैशाखसम्ममा ५ सय ८९ उजुरी छानबिन र अनुसन्धानको प्रक्रियामा रहेका छन् ।
यो वर्ष एक हजार ३ सय ६६ उजुरी दर्ता भएकामध्ये ७ सय ७७ उजुरी फछ्याैट भएको कार्यालयले बताएको हो । कार्यालय प्रमुख बिनिता भट्टराईले उजुरीमध्ये योजना छनोट, कार्यान्वयन, भुक्तानी प्रक्रिया, करार कर्मचारी भर्ना तथा अनुदान वितरणसँग सम्बन्धित विषयहरू बढी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सामग्री खरिद तथा विद्यालयमा खाजा वितरणसम्बन्धी उजुरी पनि उल्लेख्य छन् ।
बुटवलस्थित कार्यालयको कार्यक्षेत्रमा लुम्बिनी प्रदेशका १२ मध्ये ७ जिल्ला र गण्डकी प्रदेशको नवलपरासी (पूर्व) समेटिएको छ । ती जिल्लामध्ये सबैभन्दा धेरै उजुरी रूपन्देहीमा परेका छन् जहाँ गत वर्षबाट सरेका १२५ उजुरीसहित कुल ४ सय ७९ उजुरी दर्ता भएका छन् । तीमध्ये २ सय ७६ उजुरी फछ्याैट भएका छन् भने २ सय ३ उजुरी हाल पनि छानबिनको प्रक्रियामा छन् ।
कपिलवस्तुमा ३ सय १९ उजुरी दर्ता भएका छन्, जसमध्ये १ सय ३२ उजुरी अझै छानबिनमै छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा कम उजुरी दाङमा मात्र ७ दर्ता भएका छन् ।
अन्य जिल्लाहरूमा नवलपरासी बर्दघाट सुस्ता पश्चिममा १ सय ४८ उजुरी दर्ता भएका छन्, जसमध्ये ८३ उजुरी फछ्याैट र ६५ छानबिन प्रक्रियामा छन् । प्युठानमा २२ उजुरीमध्ये ११ अझै फछ्याैट हुन बाँकी छन् । गुल्मीमा १ सय उजुरी दर्ता भएका छन्, जसमध्ये ५१ उजुरी फछ्याैट भइसकेका छन् । अर्घाखाँचीमा १ सय २ उजुरीमध्ये ५८ फछ्याैट भएका छन् भने पाल्पामा ९९ उजुरी परेका छन्, जसमध्ये ६२ उजुरी फछ्याैट भएका छन् ।
कार्यक्रममा सरुमारानी गाउँपालिकाकी उपाध्यक्ष वसन्ता खड्काले व्यक्तिगत रिस, पूर्वाग्रह तथा काम रोकिने मनसायले उजुरी दिने प्रवृत्ति बढेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा अख्तियारका उपसचिव गीता आचार्यले आयोगको कार्यक्षेत्र, अधिकार र कार्यप्रणालीबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यालय प्रमुख भट्टराईले प्युठानसहित कार्यक्षेत्रभित्रका जिल्लाहरूको उजुरीको स्वरूपबारे जानकारी दिँदै, सही नियतले काम गर्नेहरूले डराउनु नपर्ने र उजुरी परेको भन्दै विकास निर्माण रोकिनु नहुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरूले अख्तियारसम्बन्धी विभिन्न जिज्ञासा र सुझाव समेत राखेका थिए ।