• २७ वैशाख २०८१, बिहिबार

प्रदूषण रोक्न स्थानीयद्वारा कुखुरा फर्ममा तालाबन्दी

blog

माला कर्ण

कल्याणपुर, जेठ २३ गते । सप्तरीको खडक नगरपालिका ८ मुसहरनियाँ विसनपुरमा रहेको पूर्वाञ्चल पोल्ट्री प्रा.लि. (कुखुरा फर्म)मा स्थानीयले आइतबारदेखि तालाबन्दी गरेका छन् । पटक पटक गरेको सम्झौता कार्यान्वयन नगर्दा स्थानीयहरु पुनः आन्दोलित हुने पुगेका हुन् । 

फर्मबाट निस्कने सुलीको प्रदूषण, झिँगा र लामखुट्टे प्रकोपका कारण स्थानीयको दैनिकीमा समस्या भएको भन्दै गत वर्ष चैतमा मूल गेटमै तालाबन्दी गरी आन्दोलन गरेको थियो । सो आन्दोलनपछि सुलीलाई व्यवस्थित गर्नै र झिँगा र लामखुट्टे नियन्त्रणको लागि समय समयमा औषधि छर्कने सहमतिअनुसार काम नभएकाले तालाबन्दी गरेको स्थानीय श्रवण चौधरीले बताउनुभयो । 

फर्म सञ्चालकहरुले समयमा सफाईको ध्यान नदिई आफ्नो आम्दानी मात्र खोजेको र मानिसहरुको स्वास्थ्यको ख्यालै नगरी आफ्नो फाइदा मात्र खोजेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । स्थानीयहरुले आफूहरुको घरमा झिँगाको कारण बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी परेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको जनाएका छन् । 

यता फर्मका मेनेजर टुरदेव अधिकारीले आफूहरुले सञ्चालकको आदेशानुसार झिँगा मार्ने औषधि छर्किने गरेको प्रतिक्रिया दिनुभयो  । उहाँले फर्मका सञ्चालकलाई आन्दोलनबारे जानकारी गराएको बताउँदै यो समस्याको समाधान चाँडैै हुने बताउनुभयो । 

कुखुरा राख्ने ३३ वटा खोर रहेको फर्ममा एक लाख ६० कुखुरा राख्ने क्षमता रहेको र एक लाख ३५ हजार कुखुरा रहेको जानकारी उहाँले दिनुभयो । ती कुखुराबाट दैनिक ३ देखि ४ ट्याक्टर सुली उत्पादन हुने भएकाले सुलीको उचित व्यवस्थापन नहुँदा प्रदूषण र झिँगा फैलिने समस्या हुने गरेको छ ।