• ८ जेठ २०८१, मङ्गलबार

यात्रुद्वारा चढाइएका ऐनाका कारण भरियो रिठ्ठेभिरको भित्ता

blog

बाबुराम देवकोटा

रिठ्ठेभिर (सिन्धुली), जेठ २३ गते । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–५ रिठ्ठेभिरस्थित सेतीदेवी मन्दिरमा ऐना चढाउनेको सङख्या बढ्दै गएको छ । बीपी राजमार्गमा ठुल्ठूला सवारी दुर्घटना हुन थालेपछि दुर्घटनालाई टार्ने भन्दै उक्त राजमार्ग हुँदै यात्रा गर्नेले सेतीदेवीलाई खुशी पार्न ऐना चढाउन थालेका स्थानीय बासिन्दा बताउँछन् । यतिखेर यात्रुले चढाएको ऐनाले मन्दिर वरपर रहेको बीपी राजमार्गको किनारमा रहेको रिठ्ठेभिरको भित्तो भरिएको छ । अहिले भित्तामा हजारौंको सङ्ख्यामा ऐना झुन्डिएका छन् ।

ऐना संरक्षण गर्न बस्नुभएका स्थानीय डम्बरबहादुर हायुका अनुसार बीपी राजमार्ग निर्माणका क्रममा बनाइएको मन्दिर नजिकैको रिठ्ठेभिरको ट्रयाक सडकमा २०६८ सालमा चार वटा सवारी दुर्घटना भएका थिए । त्योमध्ये २०६८ साल वैशाख र असोजमा रिठ्ठेभिरमा भएका दुई वटा सवारी दुर्घटना अहिले पनि सम्झँदा जिउ नै सिरिङ हुने खालको छ ।

२०६८ वैशाख २० गते यात्रुबस रिट्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गएको थियो । यस्तै सोही वर्षको असोज २६ गते दशैँ मनाएर काठमाडौ फर्कँदै गरेका यात्रु बोकेको बस सोही ठाँउबाट सुनकोसी नदीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए । त्यसपछि त्यस स्थानमा रहेको सेतीदेवी रिसाएर दुर्घटना बढेको भन्दै उक्त देवीलाई खुशी बनाउन ऐना चढाउन शुरु गरिएको हायुले सुनाउनुभयो । 

उहाँका अनुसार सेतीदेवीका नाममा उक्त मन्दिरमा बा २ ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना चढाएको हो ।

सेतीदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठका अनुसार हाल सेतीदेवीको दर्शन गर्न आउनेको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको छ ।

ऐना चढाउन थालेपछि त्यस स्थानमा दुर्घटना हुन छाडेको स्थानीयको दाबी छ । ‘हामी यो ऐनालाई संरक्षण गर्दै व्यवस्थित गर्न थालेका छौँ,’ पूर्व वडाअध्यक्ष सन्तोष दाहालले भन्नुभयो, ‘हाल हजाराैं ऐना यस क्षेत्रमा छन् ।’ ऐना राख्नुको मुख्य उद्देश्य नै सुरक्षित यात्राको कामना भएको उहाँको बुझाइ छ । 

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको रिठ्ठेभिरमा रहेको सेतीदेवीलाई चढाएको ऐना । तस्विरः बाबुराम देवकोटा, सिन्धुली