• ३१ चैत २०८१, आइतबार

देशलाई समृद्ध बनाउन प्रदेश संरचना आवश्यक छ : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

अमरराज नहर्की

तनहुँ, चैत ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा राजसंस्था पुर्नस्थापना हुन नसक्ने बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले व्यास नगरपालिकाकाको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार दमौलीमा गरिएको कार्यक्रमलाई उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

राजसंस्था हुनु भनेको मुलुकलाई अझै पछाडी धकेल्ने भएको उहाँले बताउनुभयो । २४० वर्षसम्म राजाको शासन हेरेको जनताको अवस्था परिवर्तन नभएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । देशमा प्रजातन्त्र पुर्नस्थापना हुनु अघि सम्म त्यतिबेला टुकी बाल्नु परेको, तीन घण्टा हिँडेर विद्यालय जानु पर्ने, खानेपानीको अभाव, उपचार नपाएर अकालै ज्यान जाने जस्ता समस्या उल्लेख गर्दै राजाको पालामा विकास भयो भन्नु गलत भएको बताउनुभयो । कोठामा बसेर सिमित व्यक्तिहरूबिच छलफल गरेर  सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको नभई लामो सङ्घर्षले स्थापना भएको पाण्डेले बताउनुभयो । 

जनताको लामो सङ्घर्ष, ठुलो त्याग र सङ्र्घष र बलिदानीबाट सङ्घीयता आएको उहाँको भनाइ थियो । सबै राजनीतिक विचार भएका दलहरूको सहमतीमा गणतन्त्र आएकोले सबैले अपनत्व गरेको पाण्डेले बताउनुभयो । गणतन्त्र आउनु अघि जनतासँग सरकारको पहुँच नभएको ठोकुवा गर्दै  मुख्यमन्त्री पाण्डेले बजेट माग्न सिंहदरबार धाउनु पर्ने बाध्यताको अन्त्य प्रदेश सरकारले गरेको बताउनुभयो।

प्रदेश र स्थानीय तहलाई जति अधिकार पाउनु पर्ने हो त्यो नपाउँदा जनताको सबै कुराहरु पूरा गर्न कठिन भएको उल्लेख गर्दै पाण्डेले प्रदेश संरचनानै नेपालको समृद्धिको आधार भएको बताउनुभयो । केही भएन भन्ने भाष्य हल्ला फैलाएर गणतन्त्रलाई कमजोर पार्ने काम भएको उहाँले बताउनुभयो । सडक, घरघरै खानेपानी, बिजुली, अस्पताल गाउँसम्म पुर्‍याउने काम भएको बताउनुभयो । 

तथ्याङ्क र यर्थाथताको आधारमा बोल्न आग्रह गर्दै पाण्डेले विकासको पूर्वाधारहरू पुगेको र अब प्रदेश सरकारले आय आर्जन वृद्धि गर्न ध्यान दिएको बताउनुभयो । 

यस्तै, प्रदेशले आयआर्जनसँग जोडिने कार्यक्रम बनाउनु पर्ने समेत उहाँकाे भनाइ छ । रोजगारी र आयआर्जन सिर्जना प्रदेश सरकार लागेको जस अन्तर्गत घरेलु मदिरा ब्राडिङ गर्न लागिएको बताउनुभयो। बाहिरबाट आयात गरिएको नभई पुरै गाउँमै उत्पादन भएको घेरलु मदिरा ब्राडिङ हुने उहाँले बताउनुभयो । विदेशबाट कोदो, मकै, गहुँ जस्ता घरेलु मदिराका कच्चा पदार्थ मगाउने नभई गाउँमै उत्पादन प्रेरणा मिलोस् भनेर ब्राडिङ गर्न लागिएको बताउनुभयो । 

गाउँमै रोजगारी र उत्पादनले जोड्ने योजना प्रदेश र स्थानीय मिलेर गरेर प्रदेश प्रतिको नकरात्मक भावान हटाउनु पर्ने उहाँको भनाइ थियो । हामीसँग विकासका पूर्वाधार भएपनि रोजगारीको अवसर कम भएकोले आम्दानी र रोजगारीका योजना बनाई कार्यान्वयनमा ल्याई सङ्घीयताको महसुस गराउनु पर्ने उहाँले बताउनुभयो । नेपाल छोडेर गइसकेपछि नेपाललाई गाली नगर्न, केही हुँदै भनेर नभन्न र सीप, धन र ज्ञान हुनेले जन्मभूमि प्रतिको  लगानी गरेर रोजगारी र आम्दानी सिर्जना गर्न सहयोग गर्नुपर्ने पाण्डेको भनाइ थियो ।  

स्थानीय र प्रदेश सरकार नहुँदा आफ्नो समस्या सुनाउन सहज नहुँदा सिंहदरबार पुग्ने परेको पुनः स्मरण गर्दै पाण्डेले  सिमिति स्रोत र साधनभित्रै असिमिति चाहाना पूरा गर्न कठिन भएको उहाँकाे भनाइ छ । तथ्यमा आधारित बोल्न लहै लहैमा लागेर नबोल्न उहाँले आग्रह गर्नुभयो । जति हुनु पथ्याे भएन होला तर भएन भनेर भन्न नहुने बाटोघाटो, शिक्षा, खानेपानी, स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन तथ्याङ्क हेर्न पाण्डेले आग्रह गर्नुभयो । मुख्यमन्त्री पाण्डेले १५ बेडको प्रदेश अस्पताल दमौलीलाई एक महिना भित्रै ५० शय्या को बनाउन लागिएको जानकारी दिनुभयो । 

राष्ट्रिय सभाको नेकपा एमालेको प्रमुख सचेतक भगवती न्यौपाने जनताले महसुस गर्ने गरी विकासको काम अघि बढाउनुपर्ने बताउनुभयो । विकासको काम निष्पक्ष रूपमा गरिनु पर्ने उहाँको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले सडक निर्माण गर्दा गाउँमा उत्पादन भएको कृषि उपज सहरसम्म लैजाने ठाउँलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो ।  

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशका पूर्व सदस्यहरू डोबाटे विश्वकर्मा, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिस पोख्रेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्र लगायतले रोजगारी सिर्जना तथा आयआर्जन वृद्धि गर्न नीजि क्षेत्रलाई सहभागितामा मात्रै सम्भव भएको कुरामा जोड दिँदै  आयोजनाबाट प्रतिफल लिने कार्यक्रममा उद्योग वाणिज्य र अन्य नीजि क्षेत्रसँग समन्वय गरिनु पर्नेमा जोड दिनुभएको थियो ।

१५ बेड क्षमताको प्रादेशिक अस्पताल दमौलीलाई कम्तिमा पनि ५० शय्या क्षमताको रूपमा स्तरोउन्नती गरी बिरामीको उपचारको सहज बनाउन मुख्यमन्त्री पाण्डे समक्षम वत्ताहरूले माग राखेका थिए ।