• ७ मंसिर २०८१, शुक्रबार

स्थानीय निर्वाचनको सन्देश

blog

नेपालको मौजुदा राजनीतिक संरचनाअनुसार गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । नयाँ संविधानअनुसार दोस्रो पटक भएको स्थानीय निर्वाचनमा बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक ७५२ स्थानीय तहको परिणाम आइसकेको छ । त्यहाँ पहिले भएको निर्वाचनमा विवाद भएकोले निर्वाचन आयोगको आदेशानुसार पुनः मतदान हुँदैछ । सार्वजनिक भएको निर्वाचन परिणामअनुसार, हालसम्म नेपाली कांग्रेसले नगरप्रमुखमा ३२९ ल्याएर पहिलो, एमाले २०५ ल्याएर दोस्रो र माओवादी केन्द्रले १२१ ल्याएर तेस्रो भए भने स्वतन्त्रबाट १३ जना नगरप्रमुख बनेका छन् । त्यो पनि काठमाडौँ, धरान, धनगढी, जनकपुर, र बर्दीबाससमेतका पालिकामा स्वतन्त्रबाट निर्वाचित भएका छन् । समग्रमा त ३८५ जनाभन्दा धेरैले विभिन्न पदमा स्वतन्त्रबाट जित हासिल गरेका छन् । यसरी विजयी भएकालाई बधाई र सफलताको शुभकामना । यो जितले नेपाली राजनीतिमा टर्निङ मोडको सङ्केत दखिएको छ । यो मोड रोक्न बेलैमा नेतृत्व सचेत हुन जरुरी छ । 

काठमाडौँमा बालेन्द्र शाहले ६१ हजार ६६७ मत ल्याएर मेयर बनेपछि यसले सबैलाई झस्काएको छ । काठमाडौँजस्तो नेवार बाहुल्यता भएको संस्कृति र सम्पदाले भरिएको मुलुककै राजधानी भएको महìवपूर्ण सहरमा ३२ वटै वडाबाट धेरै मत ल्याएर गणेशमानकी बुहारी सर्जना सिंह र एमालेका आफूलाई हस्ती बताउने केशव स्थापितलाई हराएर मेयर बन्ने कुरा चानेचुने होइन । 

जेहोस् बालेनलाई जिताएर काठमाडौँका मतदाताले एक खालको सन्देश दिएका छन् । यो चुनावी परिणिामले मधेशवादी दलहरूले लामो समयदेखि चुनावी राजनीतिक एजेन्डा बनाएर उछालेको मधेशी पहाडीको लक्ष्मण रेखा पनि मेटिएको छ । अर्कोतिर पुराना र ठूला दलका नेता हुँ भन्नेहरूले पनि दम्भ हटाउनपर्ने भएको छ । यसबाट के सङ्केत मिलेको छ भने अब नाम चलेको दल, नाम चलेको परिवार वा स्वयं नाम चलेका नेताको नामबाट चुनाव जित्ने दिन गए । अब त जनताले विश्वास गरेका, नयाँ भिजन भएका सबैको मन जित्न सक्ने लोकप्रिय युवाका दिन आएको स्पष्ट सङ्केत देखिएको छ । यही भएकाले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिँदासम्म बालेनले जित्नेमा धेरैले पत्याएकै थिएनन् । स्वयं स्थापितलाई त ठूलै भ्रम परेको रहेछ । अब निकट भविष्यमा हुने सङ्घीय र प्रदेशको निर्वाचनमा ठूला दलका नाम चलेका नेतालाई चुनाव जित्न सजिलो देखिँदैन । इतिहास भजाएर खाने दिन गइसकेको सङ्केत हालै सम्पन्न स्थानीय तहको परिणामले देखाइसकेको छ ।

नेपाली राजनीतिमा यसरी अचानक टर्निङ मोड कसरी आयो भन्ने लाग्नु स्वाभाविक हो । किनभने धोका खाएपछि नेपालीको बुद्धि आउँछ भन्ने भनाइ प्रचलनमा रहेको छ तर यस्तो अचानक भएको हुँदै होइन । नभए त २००७ सालदेखि सुरु भएको प्रजातन्त्रको यात्रा ७० वर्षभन्दा धेरै हुँदासमेत नेताहरूको सोच किन जनपक्षीय नभएको ? १५औँ गणतन्त्र दिवस मनाउँदासमेत नेपाली जनतामा किन यति धेरै असन्तुष्टि छ ? इन्धनको मूल्यवृद्धिका कारण जनतालाई बाँच्न मुस्किल हुने गरी महँगी बढ्दासमेत सरकार किन मौन छ ? त्यसमा पनि ०४६ र ०६२, ०६३ सालपछि कार्यकर्ताहरूले नेतालाई कम तिखारेका होइनन् । 

त्यसपछि पनि उस्ताको उस्तै भएकोले आजित भएर यो अवस्था आएको हो । नेताहरूको शैली र सोच उस्तै कसरी भयो ? त्यसमा पनि यो त भन्दा भन्दा केही सीप नलागेर स्थानीय निर्वाचनको अवसर पारेर नेतालाई सद्बुद्धि दिन मतदाताले ठूला भनेका नेताहरूलाई सिकाउन यो काम गरेका हुन् । अरू केही सीप नलागेपछि गर्ने के त ? कुनै सुझाव नसुन्ने, जनताको हितमा काम नगर्ने, आफ्नो स्वार्थमा मात्र काम गर्ने, नातावाद र कृपावाद मात्र गर्ने मात्र भइरहेकोले नै आज यो अवस्था आएको हो । अब नेतृत्वले गम्भीर हुनै पर्छ । अब पनि यथास्थिति रहेमा यसको असर सङ्घ र प्रदेशको चुनावमा पर्नेछ । यसका लागि नेताहरूले बेला छँदै तयारी गर्नु बुद्धिमानी हुनेछ ।

चुनावको समयमा झुठ्ठा आश्वासन दिएर मत लिने र चुनावपछि आफूलाई मत दिने मतदातासमक्ष नाकमुख नदेखाउने अनुहारलाई अब निकै समस्या छ । नेताहरूले यो चुनावको परिणामबाट बेलैमा पाठ सिक्नै पर्छ । आफ्नो पुरानो सोच र शैलीमा परिवर्तन ल्याउनै पर्छ । अब उहाँहरूका लागि एउटै विकल्प बाँकी छ । त्यो के हो अब जनताले मन पराएका लोकप्रिय युवालाई अघि सार्नुको विकल्प छँदै छैन । यस विषयमा नेपाली कांग्रेसको नेतृत्व पहिले गम्भीर हुन जरुरी छ । किनभने जनताको आशा भरोसा कांग्रेससित नै धेरै छ । 

अबको आवश्यकता भनेको युवालाई प्राथमिकता हो । दलको यति धेरै वर्चस्व भएको बेलामा पनि स्वतन्त्रले यसरी दलका उम्मेदवारलाई हराउनु भनेको नेताहरूका लागि ठूलो चुनौती हो । नेताहरूको काम गर्ने सोच र शैली पुरानै रहने हो भने यो रोग झन् झाँगिन सक्छ । अब आउने निर्वाचनका हरेक पदमा स्वतन्त्रमा उम्मेदवारी पर्न सक्छ । अहिलेजस्तै राम्रोलाई भन्दा हाम्रोलाई नेताहरूको नातागोताको नाम स्वार्थवश पकेटबाट झिकेर अवसर दिने हो भने अबको परिवर्तन कसैले रोक्न सक्दैन । योग्य र इमानदारलाई सधँै पाखा लगाएर आफ्नो स्वार्थमा डुबेर नातावाद, कृपावादको सीमा नाघेर नेताहरूले काम गरेकाले आज यो दिन आएको हो ।

अहिले सोच्दै नसोचेको बेलामा त यति धेरै महत्त्वपूर्ण ठाउँमा स्वतन्त्रले जितेर देखाइसके भने अब होस् नगरे समग्रमै ठूला दललाई साइड लगाएर मूलधारमा स्वतन्त्रहरू नै पुग्न बेर लगाउने छैनन् । यसो भयो भने ठूला दलहरूको भविष्य के होला ? यो यथार्थलाई चाहेर वा नचाहेर पनि स्वीकार्नै पर्छ । 

अहिले आएको समस्या र सङ्केत पनि युवाको भावनाअनुसार काम नगरेकाले नै आएको हो । युवालाई वर्तमान नेतृत्वले बेवास्ता गरेकाले बाध्य भएर रोजगारीका लागि विदेशिनु परेको पीडाको प्रतिफल नै बालेनको विजय भएको हो । यही कारणले स्वदेश तथा विदेशका युवाले आफूले त बालेनलाई समर्थन गरे । आफ्ना बाबु, आमालाई समेत बाध्य पारेर मत दिन लगाएकाले नै धेरै मत आएको हो । त्यसैले अबको समाधान भनेकै जनभावनाअनुसार जनहितमा काम गर्नु हो । नभए आउने दिनमा झन् ठूलो धोका खाने निश्चित छ । 

अबको आवश्यकता भनेको जनजीविकाको लागि विकास हो । राजनीतिक अधिकारको रक्षाका लागि पनि यही काम गर्न जरुरी भइसकेको छ । यही काम नेताहरूले नगरेकाले नै नेपाली जनता वाक्क दिक्क र निराश भइसकेका छन् । आमरूपमा यसको प्रतिफल पाउने गरी राजनेताले काम गरेनन् भने यसको नकारात्मक असर मौजुदा राजनीतिक प्रणालीमा नै पर्न जान्छ । यसको सङ्केत देखिसकिएको छ । अझै नबुझ्ने वा बुझेर पनि बुझ पचाउने हो भने नयाँ राजनीतिक प्रणालीको बिजारोपण नहोला भन्न सकिँदैन । त्यसैले विगतको दम्भ, गलत सोच र आचरणलाई छोडेर जनताको हितमा मात्र काम गर्न सुरु गरौँ । अन्यथा नेपाली राजनीतिमै यसरी नै नसोचेको टर्निङ मोड आउन सक्छ । बेला छँदै सम्बन्धित सबै होसियार बनौँ ।

Author

बेनीबहादुर कार्की