• ५ वैशाख २०८२, शुक्रबार

समाजवादी आन्दोलनको औचित्य

blog

नेपालमा समाजवादी पार्टीहरूले मुलुकलाई समाजवादमा अगाडि बढाउने लक्ष्य लिए पनि रणनीतिक योजनासहित अगाडि बढ्ने कार्यदिशा अगाडि सार्न सकेका छैनन् । त्यसरी समाजवादलाई पार्टी विधान र दस्ताबेजमा मात्र सीमित राखेर समाजवाद अगाडि बढाउन सकिँदैन । समाजवादमा अगाडि बढ्न नेतृत्वले समाजवादको जगमा टेकेर रणनीतिक योजनासहित समाजवादी अभियानको नेतृत्व गर्नु पर्छ । मुलुकमा समाजवादलाई अगाडि बढाउने दृढ इच्छाशक्ति भएको नेतृत्व विकास हुन सकिरहेको देखिँदैन, केवल नेतृत्व पुँजीवादी भासमा भासिँदै गइरहेको देखिन्छ । विशेषतः समाजवादी नेतृत्वले दलाल पुँजीवादीसँग साँठगाँठ गरेर गुटगत तथा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेका कारण समाजवाद कमजोर बनिरहेको छ ।

समाजवादी पार्टीमा हराउँदै गएको आलोचना र आत्मालोचनाको संस्कारले पनि समाजवादलाई कमजोर बनाइरहेको छ । समाजवादी आचरण र पद्धतिमा बस्न नसक्ने, आलोचना सुन्न नसक्ने तथा नेतृत्वलाई देवत्वकरण गर्ने चरित्रको विकासले समाजवाद सबैभन्दा खतरामा परिरहेको छ । समाजवादी पार्टीहरू एकताभन्दा टुटफुटमा रमाउने, एकले अर्कालाई होच्याउने, पार्टीबिचका समस्या केलाएर समाधान नखोज्ने, ठुला पार्टीले साना पार्टीको अस्तित्वलाई स्वीकार नगर्ने तथा पार्टी एकताभन्दा विलय होस् भन्ने सोच राख्ने, एकले अर्कालाई समाजवादी चरित्रको नदेख्ने, एकै ठाउँमा बसेर आपसी मतभिन्नता कम गर्ने रणनीति नलिने, पार्टी एकता भए पनि भावनात्मक एकता कायम हुन नसक्ने, पार्टीभित्र गुट झाँगिने, नेतृत्वमा महत्वकाङ्क्षी र अवरसरवादी चरित्र हाबी हुने जस्ता विविध कमजोरीका कारण नेपालमा समाजवादी आन्दोलन पछि परेको छ ।

अनुशासनहीनता र अवसरवादले प्रश्रय पाउनु, वैचारिक तथा सैद्धान्तिक धरातल कमजोर हुँदै जानु, अध्ययन अनुसन्धान पद्धतिमा पछाडि पर्नु, सामूहिक नेतृत्व कमजोर बन्दै व्यक्तिवाद हाबी हुनु, निषेधको राजनीति र गुटगत स्वार्थ मौलाउनु, सङ्गठनात्मक सिद्धान्तलाई कमजोर बनाउनु, सुविधाभोगी चरित्र विकास हुनु, परिवारवाद, नातावाद, कृपावाद, गुटवाद हाबी हुनु आदि कारणले समाजवादभित्र विविध किसिमका विकृति र विसङ्गति मौलाइरहेका छन् । आज पार्टीका धेरै नेता तथा कार्यकर्ता आफूले विगतमा पार्टीलाई पुर्‍याएको योगदानको बखान गर्दै आजीवन अवसर पाइरहनुपर्र्ने मानसिकतामा परिणत भएका छन् । उनीहरू समाजवादी क्रान्तिको निरन्तरताबाट विचलित हुँदै वैचारिक चिन्तन पनि छाडेर दिग्भ्रमित भई शिथिल भएका देखिन्छन् । यति मात्र हैन, नेतृत्व वर्ग कतिसम्म भ्रष्ट हुँदा रहेछन् भन्ने नराम्रो छाप पनि जनतामा परिरहेको छ  । 

पार्टीभित्र समाजवादको चिन्तन, बहस र छलफल गर्ने र मौलिक विशेषताका आधारमा समाजवादका स्पष्ट नीति तथा कार्यक्रम ल्याई कार्यान्वयनमा अगाडि बढ्ने ठोस कार्यदिशा अगाडि सार्न सकिरहेको देखिँदैन । समाजवादी चिन्तनमा आएको विचलन तथा समाजवादलाई समय सापेक्षा परिष्कृत बनाएर अगाडि बढाउन नसकेका कारण समाजवादको जग कमजोर बनेको छ । समाजवादको विकासका लागि समाजवादी चेतना र समाजवादी नैतिकता अनिवार्य सर्त भएकाले मुलुकको राजनीतिमा समाजवादी नेतृत्वसँग छाएको चरम अनैतिकता र आपसी अविश्वासको वातावरणले समाजवादलाई थप कमजोर बनाइरहेको छ । मुलुक चलाउने राजनीतिज्ञ तथा कर्माचारीतन्त्र दलाल प्रवृत्तिमा परिणत हुँदा दलाल पुँजीवाद हाबी हुँदै समाजवादलाई अवरोध तथा विस्थापित गर्न मुख्य भूमिका निर्वाह गरिरहेका छन् । 

समाजवादभित्र हुर्केको दलाल प्रवृत्तिलाई दलाल समाजवादको संज्ञा दिन थालिएको छ । यो समाजवादभित्र हुर्केको दलाल पुँजीवाद नै हो, त्यसले समाजवादको क्षयीकरण गरिरहेको छ र दलाल पुँजीवादलाई बढवा दिइरहेको छ । दलाल पुँजीवाद र दलाल नोकरशाहीलाई अङ्कमाल गर्ने समाजवादी चिन्तनका कारण विपक्षीले समाजवादी दलाल भनेर आरोप लगाउनु पनि स्वाभाविकै हो । कमिसन, भ्रष्टाचार तथा नाफामा केन्द्रित भएर मुलुक, जनता र पार्टीलाई बर्बाद बनाउने समाजवादका खोल ओढेका कमिसनखोर र भ्रष्टाचारीलाई उठ्नै नसक्ने गरी कडाभन्दा कडा सजाय दिन सक्नु पर्छ ।

समाजवादी शक्तिहरूले पुँजीवादका राम्रा पक्षलाई पक्रेर अगाडि बढ्न नसकेका कारण समाजवाद समय र परिस्थिति अनुसार परिष्कृत रूपमा अगाडि बढ्न असफल भएको देखिन्छ । पछिल्लो समयमा चीन, भियतनामलगायतका मुलुकले समाजवादमा पुँजीवादका केही सकारात्मक पक्षलाई आत्मसात् गर्दै शक्तिशाली अर्थतन्त्र भएको मुलुकका रूपमा स्थापित हुन सफल भएका छन् । विश्वमा समाजवादको दबदबा बढेको समयमा विश्वका पुँजीवादी शक्तिले पनि समाजवादलाई जोड्ने अर्थात् समाजवादका राम्रा मूल्य र मान्यता अङ्गीकार गर्ने रणनीतिसहित अगाडि बढेर क्रमिक रूपमा विश्वमा पुँजीवादलाई एकछत्र बनाउन सफल भएको देखिन्छ । मुलुकको विशेषता अनुसारको समाजवादको कार्यदिशामा केन्द्रित भएर समाजवादी आन्दोलन अगाडि बढ्न नसक्नु नै समाजवादी आन्दोलनले ठोस गति लिन नसक्नुको प्रमुख कारण हो ।

समाजवादलाई एउटा आदर्श आर्थिक तथा राजनीतिक प्रणालीका रूपमा हेरिन्छ तर समाजवादको नारा बोक्नेहरूको एउटा जमात समाजवादी मूल्य र मान्यतालाई लत्याएर आफन्त र आसेपासेको संरक्षण गर्दै राज्य र जनताको दोहन गरी अवैध रूपमा अकुत सम्पत्ति आर्जन गर्ने होडमा रहेको देखिन्छ । तिनै शक्ति समाजवाद निर्माणका सबैभन्दा ठुला दुश्मन बनेर समाजवादलाई बदनाम गरिरहेका छन् । अर्थतन्त्रमा देखिएका कमीकमजोरीलाई केलाएर सुधार गरी समाजवादी अर्थतन्त्रलाई परिष्कृत बनाउन नसकेको कारण प्रत्यक्ष/परोक्ष पुँजीवादको घेराबन्दीमा समाजवाद पर्न बाध्य हुनु स्वाभाविकै हो । प्राकृतिक स्रोतसाधान र मानवीय स्रोत पर्याप्त हुँदा पनि मुलुकलाई औद्योगिकीकरणमा गतिका साथ अगाडि बढाउन नसक्दा होनाहार युवाशक्ति रोजगारीका लागि ठुलो सङ्ख्यामा बिदेसिनु पर्दाको पीडाले समाजवादी आन्दोलनलाई गिज्याइरहेको अनुभूति भइरहेको छ ।

औद्योगिक क्षेत्रमा पुँजी लगानीको विश्वासिलो वातावरण नबन्दा श्रम बजार खुम्चिनुका साथै उत्पादनमा पनि ह्रास आउने गर्छ । ठुला ठुला बहुराष्ट्रिय कम्पनीमार्फत पुँजीवादी मुलुकले वित्तीय पुँजी र श्रमकेन्द्रित गरी वित्तीय क्षेत्रमा दलाल पुँजीवाद विकास गरिरहेका छन् । तेस्रो मुलुकका मजदुरलाई रोजगारीमा प्राथमिकता दिएर औद्योगिक क्रान्तिबाट कम्पनी सुरक्षित हुने रणनीति बनाउँदै मुनाफा कमाउन एकाधिकार पुँजीवादको विकास पनि गरिरहेका छन् । श्रमजीवी वर्ग पनि आफ्नो सुनिश्चित भविष्यको खोजीमा रोजगारी र पदोन्नतिका लागि पुँजीवादकै चाकडी र दलाल गर्न बाध्य हुने वातावरण बनिरहेको छ । समाजवादी चिन्तक तथा दलहरूले श्रम बजारको विकासमा जोड दिँदै रोजगारका लागि बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न सके भने मात्र समाजवादी आन्दोलनले सही बाटो पक्रन सक्छ ।

मुलुकलाई औद्योगिकीकरण नगरी उत्पादन र श्रम बजार बलियो बनाउन सकिँदैन । श्रम बजार बलियो नहुन्जेल वैदेशिक रोजगारीका रूपमा श्रमपुँजी निर्यात गर्न मुलुक बाध्य हुनु पर्छ भने रेमिट्यान्सका रूपमा आउने पुँजीले मुलुकको अर्थतन्त्र धान्नुपर्ने बाध्यता रहिरहन्छ । त्यसले उत्पादन घटाउने र आयातमुखी अर्थतन्त्रले प्रश्रय पाउने हुँदा समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा अवरोध सिर्जना भएको छ । मुलुकको तत्कालीन आर्थिक तथा सामाजिक विशेषताको ठोस विश्लेषण गरेर अगाडि बढ्न नसकेका कारण समाजवादी आन्दोलन अलमलिएको छ । सशस्त्र आन्दोलनबाट समाजवादको विकास गर्ने रणनीति लिने दलहरूले पनि  क्रान्तिकारी, अधिनायकवादी र सशस्त्र दम्भ मिश्रित चरित्र सँगसँगै लिएर अगाडि बढ्ने अभ्यास गर्दा पुँजीवादको भासमा फसिरहेका छन् । त्यसैले राष्ट्रियताको लडाइ लडेर विकास गरिएको समाजवाद राष्ट्रियताको जगमा टेकेर दिगो रूपमा टिकाउन सकिन्छ भन्ने आदर्शमा अडिएर समाजवादको विकास गर्नु अपरिहार्य छ ।

सामाजिक तथा आर्थिक रूपान्तरणमा व्यवहार र सिद्धान्तमा तालमेल गरेर अगाडि बढ्न सकेनन् भने पनि समाजवाद कमजोर बन्छ । समाजवादले आफ्नो अगाडि आएका सङ्कटको सामना धैर्यका साथ गर्नु पर्छ, अन्यथा समाजवादमा पनि नसोचेको परिणाम निस्कन सक्छ । समाजवादमा अगाडि बढ्दा पनि पुँजीवाद र निम्न पुँजीवादका चिन्तन हाबी भइरहन्छन्, त्यसले समाजवादी आन्दोलनलाई कमजोर बनाउने गर्छ । त्यसैले पार्टीमा अन्तरपार्टी सङ्घर्ष र निरन्तर शुद्धीकरण अभियान चलाई समाजवादलाई हुर्काउने रणनीति समाजवादी दलहरूले लिनु पर्छ । विशेषतः राजनीतिक स्थिरता र सुशासनमा जोड दिएर समाजवादलाई हुर्काउनु पर्छ । राजनीतिक स्थिरता र स्थिर सरकार भएन भने समाजवादको सपना अधुरो हुनुका साथै सरकार पुँजीवादी ढाँचामा अगाडि बढ्न बाध्य हुन्छ । कुनै पनि शक्तिराष्ट्रको पछाडि नलागी स्वतन्त्रसँग अगाडि बढ्दै राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ ।

राष्ट्रियता कमजोर बनाउन तथा समाजवादी आन्दोलनलाई शिथिल बनाउन शक्ति केन्द्रले आर्थिक, भौतिकलगायत विविध प्रलोभनमा भुलाउने र आफ्नो पकड बलियो बनाई नीतिनिर्माणदेखि कार्यान्वयनसम्म विदेशी तथा स्वदेशी दलालहरू प्रत्यक्ष/परोक्ष रूपमा सक्रिय हुन्छन् । स्वाधीन राष्ट्र निर्माण गर्न समाजवादी राज्यसत्ताले गुलामी गर्ने परिपाटीको अन्त्य गरी राष्ट्रियताका पक्षमा खरो भएर अगाडि बढ्नु पर्छ । जनताका न्यूनतम आधारभूत आवश्यकताको ग्यारेन्टी गर्ने नीति तथा कार्यक्रम ल्याउँदै आमनागरिकको सुनौलो भविष्य र उन्नति गर्न पाउने सुनिश्चित वातावरण बनाएर जनतासँग एकताबद्ध भई काम गर्न सक्नु पर्छ ।