काठमाडौं, जेठ २२ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आगामी निर्वाचनबारे छलफल भएको छ। स्थानीय तहको निर्वाचन समीक्षा गर्दै संघ र प्रदेशको निर्वाचनको तयारीबारे छलफल भएको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताउनुभयो।
“सुरुवातमा चुनाव नै हुन्छ कि हुँदैन भन्ने अनिश्चियका कारण पूरा तयारी गर्न सकिएन। चुनावमा राज्यको व्यापक दुरुपयोग भयो, हाम्रा केही साथीमाथि सांघातिक हमला नै भयो”, उहाँले भन्नुभयो। स्थानीय निर्वाचनमा गठबन्धनका कारण सन्तोषजनक नतिजा नआएको, प्रतिकूलताबीच भएको निर्वाचनबाट सन्तुष्ट भएर बस्ने स्थिति नभएको झाले बताउनुभयो।
आगामी चुनावको सन्दर्भमा वैचारिक रुपमा नजिक र जसले पार्टीका माग र मुद्दालाई सम्बोधन गर्छ, उसैसँग सहमति गरेर जाने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो। समसामयिक राजनीतिक विषयमा शनिबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पार्टी अध्यक्ष महन्थ ठाकुरले छलफल गर्नुभएको उहाँले जानकारी दिनुभयो।
“हिजो प्रधानमन्त्रीसँग विगतमा मुद्दा फिर्ता, विचाराधीन रहेको नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको छ। बैठकमा अध्यक्षले प्रधामन्त्री सकारात्मक हुनुहुन्छ भन्नुभयो”,  यी लगायतका विषयमा सहमतिमा अगाडि बढाइने कुरा भएको उहाँको भनाइ छ। 
बबरमहलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ सुरु भएको बैठक साँझ सम्पन्न भएको हो। निर्णयको केही बाँकी विधि र प्रक्रिया सम्पन्न गर्न बैठक सोमबार बस्नेछ छ।  
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                