• १६ भदौ २०८१, आइतबार

संघ र प्रदेशको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्‍छ : उपसभापति खड्का

blog

तस्बिर: मनोजरत्न शाही

ललितपुर, जेठ २२ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्‍नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

आइतबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एवम् निर्वाचन परिचालनमा सहयोगीको सम्मान गर्न जिल्ला कार्य समिति ललितपुरद्वारा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

‘संघ, प्रदेशको चुनावमा कांग्रेस पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । तर, कांग्रेसलाई हराउन अरु पार्टी चाहिँदैन’ उहाँले भन्नुभयो, “निर्वाचनको धेरै कार्य अनुभवबाट, कांग्रेसले कांग्रेसलाई मात्रै भोट हालेको भए थप ६५ पालिका जित्दोरहेछ।” स्थानीय तह निर्वाचनमा टिकट वितरणको कमजोरीले पनि ३० देखि ३५ पालिकामा केही बिग्रिएको उहाँले बताउनुभयो ।

विगतमा झण्डै दुई तिहाई बहुमतको नेकपा सरकारको आन्तरिक द्वन्द्वका कारण इतिहासले कांग्रेसलाई जिम्मेवारी सुम्पिएको उहाँले बताउनुभयो । जननिर्वाचित प्रतिनिधिलाई उहाँले जनता र मतदाताको मुहार हसिलो हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।  


निर्वाचित जनप्रतिनिधि र पराजित हुनुभएका नेताहरुले निभाउनुपर्ने भूमिका र आचारसंहिताबारे पार्टीको केन्द्रीय तहमा छलफल र निर्णय गरिने बताउनुभयो ।

यससँगै अघिल्ला निर्वाचनमा अनुगमनको कुरा बिर्सिएकाले निर्वाचित जनप्रतिनिधिले पाउनुपर्ने सहयोग र सुझाव पाउन नसक्दा थोरै घाटा भएको प्रष्ट पार्नुभयो । पार्टीबाट जिम्मेवारीमा पुगेकाहरुको संस्थागत अनुगमनबारे प्रबन्ध गरिने उहाँको भनाइ छ ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।