• २५ चैत २०८१, सोमबार

मापदण्ड विपरीतका सवारी साधन रोकिने

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल ।

काठमाडौँ, चैत २५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताउनुभएको छ । मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको आजको छलफलमा उहाँले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताउनुभएको हो ।

यसैगरी निर्माणस्थलहरूमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक बाटो तथा ‘डाइभर्सन’को व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उहाँले बताउनुभयो । काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको जनाउँदै उहाँले वैकल्पिक सडकका रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नुभयो ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरीलगायतका निकाय तथा सङ्घीय सरकारसँग थप समन्वय गरिने बताउनुभयो । दाउन्ने सडकमा भइरहेको निर्माणका कारण सवारी साधन तथा यात्रुलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको बताउनुभयो । 

सो खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक लगायतको उपस्थिति थियो । रासस