• ९ पुस २०८१, मङ्गलबार

कर्फ्यू (कथा)

blog

 केशव सिग्देल

यतिबेला मूलबाटोमा गहिरो सन्नाटा छ । मूलबाटो भन्नु पनि के छ र ? बर्खामा हिलो, गर्मीमा धुलो । मान्छेका पाइतलाका डोबले पृथ्वीमा बनेको एउटा धर्सो जस्तो यो बाटोले यहाँका झुपडीहरूलाई कुनै सम्भावनासँग जोड्दैन । कुनै वैभवसँग जोड्दैन । मानौँ शासकका तुजुक हिँड्न मात्र बनेका हुन् यी बाटाहरू । त्यहाँ कहिलेकाहीँ पुलिसका बुट हिँड्छन् र मेटाउन खोज्छन् झुपडीमा बस्ने मानिसका पाइतलाका डोबहरू । मानिसका अवचेतनमा गहिरोसँग गढेर भयको प्रतिछायाँ घरिघरि मानिसको मनभित्रको स्वतन्त्र सत्तालाई पनि गल्र्यामगुर्लुम ढाल्न खोजिरहन्छन् । 

अहिले बाटोमा शान्तिलाई खलल पु-याउने कोही छैन, सिवाय केही छाडा कुकुरहरू । बाटोको दक्षिणतिर सिसौको जङ्गल छ । खडेरीले हो या कुनै अमूक रोगले, एउटै रुख हरियो छैन । हेर्दै उजाड र नरमाइलो देखिने किसिमको दृश्य छ । पुसको महिना । जाडो पक्कै छ तर कसैले जाडो छ भनेको छैन । जाडो छल्न मूढो बालेको भए कहीँ न कहीँबाट धुवाँ निक्लिएको हुनुपर्ने हो । त्यो पनि छैन । वाचाल बस्ती पूरै मौनताको कुहिरोले छोपिएको छ । त्यसमाथि आकाशमा पनि घामको कुनै छेकछन्द छैन । 

बाटोसँग लमतन्न हुने गरी बनेका ससाना झुपडी छन् । त्यहाँ बस्ने मानिसका लागि ती झुपडी मात्रै होइनन् अस्तित्वको परिचायक हुन् । सायद घर एउटा विश्वासको विम्ब हो । विम्ब हो ओतको, सुरक्षाको, स्वामित्वको, अपनत्वको र थुप्रै यस्तै यस्तै भावनत्मकताहरूको । तर यो बस्तीका मान्छेहरू घरभित्र पनि कायरतापूर्वक बाँचिरहेछन् । प्रत्येक दिनलाई विवशतासँग हार्दै गइरहेका छन् । घर हुनुको स्वतन्त्र स्वाभिमान लिएर बाँच्न पाए पो घर घर हुन्थ्यो । सम्भावनाहरूको खोजीमा भौँतारिँदै जहाँ जहाँ पुगे पनि साँझमा घर फर्किएर सुरक्षित महसुस गर्न पाए पो त्यो घर घर जस्तो हुन्थ्यो । समयको निष्ठुरतामा पेलिएका यो बस्तीका मानिसहरूका लागि त्यो घर मात्र होइन । तन्नम नै भए पनि मेरो भन्न पाउनुले दिने सन्तुष्टिको एउटा भाव त्यसले दिन्छ । शब्दातीत एउटा वैयक्तिक संसार त्यसले सिर्जिन्छ तर त्यो संसारमा जुगौँदेखि भयको छायाँ छ । मानौँ हरेक दिन बाटोमा बन्दुकको पहरा छ । शान्ति भङ्ग नगर्ने आदेश हावामा मिसिएर श्वास पनि नियन्त्रण गरिरहेछ जस्तो । शासकका वारिसहरू आदेशको तामेली गर्न त्रास बनेर घरिघरि ती झुपडीतिर गइरहन्छन् । लामो कालदेखि यसरी नै त्यहाँका मानिस आफ्नो घरभित्र सुरक्षित र स्वतन्त्र छैनन् । 

के त्यो गाउँका मानिस यसरी नै बाँच्न अभ्यस्त भइसकेका हुन् अब ? कैयौँ दिन भोकै बिताएर पनि तृप्त मानिस जस्तो मौन कसरी छन् होला उनीहरू ? कैयौँ रात अनिदो बसेर पनि कुनै गुनासो नगर्ने हृदय कसरी बन्यो होला ? घाम, पानी र कठ्याङ्ग्रिने जाडो पनि चुपचाप कसरी सहिदिन्छन् होला ? यी प्रश्न सोध्ने कसले ? जबाफ दिने कसले ? किनकि यहाँ प्रश्नहरू वर्जित छन् । विरोध वर्जित छ । विचार वर्जित छ । विद्रोह दैहिक प्रतिरोध कदापि होइन । चेतना हो । चेतनाले परिचालन गरेपछि यो देह प्रतिरोधमा खटिने हो । भोका नाङ्गाहरू भाग्यले ठगिएको भनेर कसरी चित्त बुझाइरहलान् र ? अन्याय भइरेछ भन्ने भावनाले उनीहरूको मन हुँडलिएर नआउला र कुनै दिन ? त्यसलाई प्रतिरोध गर्ने हिम्मत जुटाउन नसक्ला र कोही कसैले ? झुपडीभित्र चुपचाप बसिरहेकाहरूको मनमा के छ अहिले यसै अनुमान लगाउन सकिएको छैन । 

कुनै अमूक दिन पनि सधैँ जस्तै ऊ घरभित्रै थियो र बाहिर कफ्र्यु ! उसले डराई डराई झ्यालको कापबाट बाहिर हे-यो । कटबाँसको लौरो लिएका केही पुलिस छन् बाटोमा तर ती पुलिस पनि पुलिस जस्ता छैनन् । आतङ्कका बुख्याचाहरू जस्ता मात्र । किनकि तिनीहरू आफैँ केही सोच्दैनन् । ती आफैँ केही गर्दैनन् । केवल त्रास उत्पन्न गर्न ठडाइएका छन् बाटोमा जसरी किसानहरू ठड्याउँछन् खेतहरूमा बुख्याचा । फरक मात्र नियतमा छ । किसानहरू बालीको सुरक्षा चाहिरहेका हुन्छन् । शासकहरू त्यही सुरक्षाको अपहरण । 

खोइ किन हो आज उसको कौतुहलता बेलगाम जस्तो भएर आउँछ । ऊ कर्फ्यू तोडेर बाहिर जान चाहान्छ । उसलाई लाग्छ उनीहरूको बाटो त जहाँको तहीँ छ । उनीहरूको भोक उत्ति छ । एक अर्थमा झन् बढेको छ । चराहरू उही सुरमा उडिरहेछन् । ती पुलिसहरू बाटोको यो कुनाबाट अर्को कुना हिँडिरहेछन् खोइ कुन उद्देश्यका लागि । सबै सामान्य छ सिवाय यो बस्तीका मानिसलाई बाहिर निस्किन निषेध छ । तर किन ? किन डराइरहेछन् शासकहरू यी भोका मानिससँग ? आखिर कफ्र्युको उद्देश्य हो के ? शक्तिको शक्तिविहीनहरूमाथिको दमन ? उसलाई किन किन आज कफ्र्यु रहस्यमयी लाग्छ । उसले कसरी बुझोस् सत्ताको नियत । उसलाई आज कर्फ्यूसँग आमनेसामने हुने उत्कण्ठा तीव्र भएर आयो । उसले विस्तारै झुपडीको ढोका खोल्यो र बाहिर निस्किन एक पाइला अघि बढायो । 

–ए कर्फ्यूको बेला तँ कहाँ हिँडेको हँ ? उसलाई देख्नासाथ कटबाँसको लौरो समातेको बर्दीवाल चिच्यायो । 

–कर्फ्यू किन लगाइएको हो हजुर ? उसले चिच्याएको बर्दीवालतिर हेरेर बिस्तारै सोध्यो ।

–यी यो लौरो खुवाउन । चाख्छस् ? उसले अलि आतङ्कित पार्ने शैलीमा भन्यो ।

उसले के जबाफ फर्काउने सोच्न सकेन । बाहिर निस्किएको एक पाइलो फेरि घरभित्रै फर्कायो र झ्यालमै गएर उभियो । आँखाहरू सडकमै पुगिरहे । बाटोमा तीन चारवटा भुस्याहा कुकुरबाहेक जम्मै पुलिस मात्र छन् । अरू कोही हिँडेको छैन । निकै दिनदेखि घरमा थुनिँदा उसलाई उकुसमुकुस भइरहेको थियो । न त चोकको पसलमा गएर साथीभाइसँग चिया गफ गर्न पाइएको थियो । न त आफ्नी प्रेमिकालाई भेट्न मेला वा हाट जान पाइएको थियो ।

–छिः कस्तो दुःख दिने यो सरकार ! घरिघरि त उसलाई दिक्दार लागेर आउँथ्यो र भन्थ्यो– बरु भुस्याहा ककुर स्वतन्त्र छन् यो ठाउँमा । मान्छे हो भनेर के धाक लगाउनु । कफ्र्युको नाममा भनेको छ, घरभित्रै थुनेको छ । अब चाहिँ हुँदैन । कसैगरी निस्किनुपर्छ । झुपडीभित्र कतिन्जेल थुनिने ? भोक खप्न पनि त गाह्रो छ । घरमा खाने कुरा छैन । कतिन्जेल यसरी चल्छ र । झ्यालमै उभिएको उसको मस्तिष्कमा अनेक तर्कनाहरू चले । यही बीचमा नारा लगाउँदै एक हुल मानिस बाटामा निस्किए । 

चल भाइ मौका यही हो । उसले ढोका खोल्यो । 

निरङ्कुश सरकार, मुर्दावाद । 

प्रहरी दमन, मुर्दावाद । 

हाम्रो हक, लिन्छौँ, लिन्छौँ !

के हिम्मतले, के कल्पनाले, कुन चेतनाले उसले यो नारा लगायो कुन्नि ? ऊ पनि भीडमा मिसियो । त्यही भीडमा उसले स्कुल पढ्दाका पुराना साथीहरूलाई पनि देख्यो । उनीहरूलाई देखेपछि भने उसलाई केही रोमाञ्चक अनुभूति भयो । उनीहरू सबैले हातमा ढुङ्गा र इँटका टुक्रा समातेका थिए । उसले पनि वरपर खोजेर दुवै हातमा ढुङ्गा समात्यो र नजानिएको उत्साहले हो फेरि चिच्याउन लाग्यो–

निरङ्कुश सरकार, मुर्दावाद । 

प्रहरी दमन, मुर्दावाद । 

काम गरी खान दे... ।

केही अगाडि बढेपछि उसले परपरसम्म दृष्टि पु-यायो । खुला आकाश र चराहरू देख्यो । सडकमा जोडजोडले नारा लगाइरहेका मानिसको आवेग पनि देख्यो । अघिसम्म घरमा थुनिइबसेको समय र यो जुलुसमध्ये कुन चाहिँ कफ्र्युको उपक्रम हो उसले अझै छुट्याउन सकेको थिएन । तर अब कफ्र्युको शाब्दिक अर्थमा अलमलिन चाहान्थेन ऊ । बलिरहेको टायरको धुँवाको मुस्लोमा आफ्नै आवेग पनि मिसिएको जस्तो लाग्थ्यो उसलाई । पुलिसको लाठी र अश्रुग्यासको पिरोको पर्वाह अब उसले गरेन । 

हान, हान ! मार जुल्फेलाई । 

मार, ठोक त्यसलाई !

अब कसले देखाओस् विवेक । जुलुसको भीडले जे सक्यो ग-यो । पुलिसको भीडले जे सक्यो ग-यो । समय अराजक बन्यो । ऊ किंकर्तव्यविमूढ उभियो । उसलाई प्रहरी र प्रदर्शनकारी दुवै त्यसरी साङ्घातिक हमला गर्ने तहमै उत्रिएको ठीक लागेको थिएन । तर विरोधमा चिच्याउँदा भने उसले भोकसमेत बिर्सेको थियो । 

त्यति नै बेला प्रहरीको गोली चल्यो । मानिसहरू भागाभाग गर्न थाले । भीड तितरबितर भयो । ऊ के गरौँ कसो गराैँ भनेर अलमलियो । भाग्न सकेन । उसको नजिक रहेकी एउटी युवती पनि सायद त्यस्तै अलमलले भाग्न सकिनन् वा हुनसक्छ भाग्न चाहिनन् । उसले पानीले भिजेको सर्ट माथि उठाएर पिरो भएको आँखा पुछ्यो र बिस्तारै हेर्ने प्रयास ग-यो । त्यति नै बेला ती युवती आफूतिर ढल्दै गरेको उसले देख्यो । उसले ती युवतीलाई दुई हातले समातेर अड्याउन खोज्यो । फेरि पनि ती युवती सम्हालिन सकिनन् । युवतीलाई अडेस दिँदै ऊ आफू पनि भुइँमा बस्यो । अनि पो देखियो युवतीको पेट फुटेर भुइँमा बीभत्स छिरलिएका आन्द्रा । पुलिसको लाठीसँग नडराएको ऊ अहिले भने काँपे जस्तो भयो । उसले विस्तारै ती युवतीको अनुहारतिर हे¥यो । अब झन् उसले आफ्नै आँखालाई विश्वास गर्न चाहेन । ती युवती आफ्नै प्रेमिका थिइन् भन्ने उसल स्वीकार गर्न चाहेन । ती युवतीलाई सम्बोधन गरेजसरी केही बरबराउन थाल्यो– कफ्र्यु भनेको शून्यता होइन । तिमी एक पटक उठ न प्लिज । तर ती युवती उसको आग्रह सुन्नै नसक्ने गरी उसकै अगाडि अनन्त निद्रामा सुतिसकेकी थिइन् । 

तत्कालै केही प्रहरी आए र उसलाई नियन्त्रणमा लिए । युवतीको शरीरलाई उसको काखबाट उठाएर एम्बुलेन्समा हाले । 

–के खोज्न आएको थिइस् ? देखिस् कफ्र्यु तोडेको नतिजा ? अघि नै प्रत्यक्ष भेट भएकोे एउटा बर्दीवालले रिसाएको लवजमा उसलाई थर्कायो । 

ऊ केही बोलेन । चुपचाप त्यो धम्की दिने बर्दीवालतर्फ हेरिरह्यो । पुष्ट गाला र खाइलाग्दो ज्यान तर अनुहारमा क्रोधको आवेग दौडिएको थियो त्यो बर्दीवालको पनि । त्यो बर्दीवालको उकासिएको गाला देखेर उसलाई आफ्नो ख्याउटे गालासँग लाज लाग्यो । अनि उसले आफ्नो बस्तीतिर फर्किएर हे-यो । गाउँलेको अनुहारमा एउटा अकल्पनीय भय पढ्यो उसले । सायद कफ्र्यु उल्लङ्घनको विपत्ति पर्खिरहेका थिए सबैले । तिनीहरूको अनुहार मलिन थियो । फेरि उसले त्यो बर्दीवालतिर हे-यो । अब उसले कफ्र्युको कुरा बिस्र्यो । आफूभित्रको भोक सम्झ्यो । शासकको आतङ्क सम्झयो । बस्तीमा डरले छोपिएको अव्यक्त पीडा देख्यो । आफैभित्र उठेको अन्याय विरोधी आगो देख्यो र आवेशमा आएर चिच्यायो–

निरङ्कुश सरकार, मुर्दावाद । 

प्रहरी दमन, मुर्दावाद । 

प्रजातन्त्र जिन्दावाद... ।

परिणाम स्वरूप ऊ कारागारको चिसो छिँडीमा पुग्यो । 

त्यतिबेलासम्म ऊ त्यो बस्तीको महìवहीन पात्र थियो । तर अहिले उसले नायकत्व प्राप्त गरिसकेको छ । उसको रिहाइका लागि सडकमा आन्दोलन हुन थालेको छ । विभिन्न दलले उसलाई आफ्नो पार्टीको कार्यकर्ता भएको दाबी गरिरहेका छन् । उसको बस्तीको यसअघि कुनै महत्त्व थिएन । कुनै नाम थिएन । त्यो एउटा अनाम बस्ती थियो र ऊ एउटा अनाम पात्र । तर अब त्यो ऊ पात्र अब अनाम साथी नामले कहलियो । उसको बस्तीले विजयपुर नाम पायो । त्यो बस्तीका मानिसका लागि यो परिचयले आफैँमा कुनै अर्थ राख्दैन । किनकि उनीहरूलाई यो घटना महाविपत्तीको सुरुवात जस्तो मात्र लागेको छ अझै । 

कुनै एक दिन उसले भनेको थियो– एक दिन म यो बस्तीको नायक हुनेछु । आफ्नी प्रेमिकालाई म नायक हुन्छु भन्नु रोमाञ्चक अभिव्यक्ति हो । त्यो प्रेमसुलभ अभिव्यक्ति मात्र थियो वा त्यसभन्दा पर केही त्यो उसले कहिल्यै व्याख्या गरेन । तर उसले भनेका त्यही हो । त्यो कुरालाई उसकी प्रेमिकाले भने सहसा विश्वास गरेकी थिइनन् सायद । 

–कसरी ? उसकी प्रेमिकाका प्रश्नवाचक आँखाहरू ऊतिर सोझ्याएकी थिइन् ।

–जसरी भए पनि । यति बोलेर ऊ मौन भएको थियो । 

तर बदलामा उनैलाई चुकाउनु पर्ला यो उसलाई थाहा थिएन । यस्तो कल्पना त उसले कहिल्यै गरेकै थिएन तर त्यो यथार्थ भइदियो ।

ऊ सम्झन्छ कसरी प्रेमोचित कल्पनामा तरङ्गित भएर बडो अधैर्यकासाथ उनि भेट्न आउँथिन् । उनको भावनालाई निरास नबनाउन चाहन्थ्यो र उनीसँग सधैँ शालिनतापूर्वक प्रस्तुत हुन खोज्थ्यो । बोलीलाई सकभर मिठासपूर्ण बनाउँथ्यो । आफूले जाने जति विषयमा कुरा गथ्र्यो । मन नपरेका विषयमा आक्रोश पनि पोख्थ्यो । कुराकानी नै उनीसँग सान्निध्य हुने बाहना थियो । हरेक भेटपछि ऊ त्यो भेटका बारेमा आत्ममूल्याङ्कन गथ्र्यो । उसलाई लाग्थ्यो भेटमा म संवाद होइन बढी एकालाप मात्रै गरिरहेछु । 

त्यस्तो किन पनि हुन्थ्यो भने जब ऊ उत्साहित हुँदै बोल्थ्यो, उसकी प्रेमिका कुनै प्रश्नबिनै त्यसलाई सुनिरहेकी हुन्थिन् । उसको कुरामा कुनै टिप्पणी गर्नु त परको कुरा प्रतिक्रियामा टाउको हल्लाउन पनि बिर्सिन्थिन् । मात्र आँखाका परेलीलाई माथि उचाल्दै जिज्ञासापूर्वक हेरिरहेकी हुन्थिन् । खासमा उनले आफ्नो प्रेमिका कुरा कति बुझ्थिन् या कति रुचि दिन्थिन् भन्ने कुरा नै अनुमान लगाउन गाह्रो थियो । तर उसलाई लाग्थ्यो आफूप्रति उनको गहिरो सद्भाव र अनुग्रह छ । यसकारण पनि आफ्नो एकालापलाई अनादर गरिनन् होला भन्ने ठान्थ्यो । दुवैको सम्बन्ध घनिभूत हुँदै गइरहेको थियो । साप्ताहिक रूपमा हुने भेटहरू बाक्लिँदै जान थालेका थिए र त्यो दैन्दिनीमा परिणत भइरहेको थियो । हरेक पटक उनी कुनै संयोग पर्न गएको बाहना बनाउँथिन् र ऊसँग भेट्न आउँथिन् । तर ती संयोगहरू आकस्मिक नियमितता बन्दै गएका थिए । हरेक पटक भेट्ने संयोग उनी नै मिलाउने गर्थिन् र पनि उसँग भन्नलाई कुनै कुरा हुन्थेन । उनीसँग भेट हुँदा ऊ रोमाञ्चक हुन्थ्यो । उनी अनुहार रातो पारेर मुस्कुराउँथिन् । कुनै औपचारिक गफ हुन नसकेको दिन यही मौन संवादले नै उनीहरूलाई जोडेको हुन्थ्यो । 

निकटताको यो लामो अन्तरालमा पनि उनले कहिल्यै प्रेमको अनुभूतिलाई व्यावहारिक बनाउन खोजिनन् । न कुनै प्रेमिकाले जस्तो कल्पनाजनित भविष्यको सपना बुनेर त्यसमा हराउन नै खोजिन् । लाग्थ्यो समयलाई सहस्र स्वीकार गरेर उनी तत्क्षण नै बाँच्न चाहेकी थिइन् या अरूलाई बचाउन खोज्ने उनको कुनै अभिप्राय नै थिएन । 

सडकमा आन्दोलन चलिरहेको थियो । 

–प्रहरीको गोली अथवा आन्दोलनकारीको ढुङ्गा लागेर यतिबेलै म मरेँ भने तिमीले के गछ्र्यौ ? उसले एक दिन उनलाई अतिशयोक्तिपूर्ण प्रश्न सोध्यो । आफूप्रतिको सान्निध्यताको कारण बुझ्न चाहेर उसले यस्तो प्रश्न सोधेको थियो । एउटा स्वास्नीमान्छे हुनुको कारणले अर्को लोग्नेमानिससँगको सामीप्यतालाई उनले कुन रूपमा लिएकी छन् ? या दैहिक सुख प्रेमको अनिवार्य सर्त हो कि होइन उसलाई जान्न मन थियो ।

तर उनी केही बोलिनन् । ठूल्ठूला आँखा तरेर चुपचाप उठेर हिँडिन् । जीवन र मृत्युको काल्पनिक क्षितिजमा उभिएर उसले केहीबेर जीवनको लेखाजोखा ग-यो र यत्तिका समयदेखिको एकालापलाई हृदय भरी अनुभव ग-यो । यस्तो प्रकारको जटिल र अस्वाभाविक सम्बन्धको अन्त्य सायद यस्तै नै हुँदो हो । यस्तो सम्बन्धलाई परिभाषित गर्न सक्ने अर्को उपयुक्त शब्दको अभावमा ऊ त्यसलाई प्रेम भन्न रुचाउँथ्यो र उनलाई प्रेमिका भनेर सम्बोधन गथ्र्याे । 

तर सानिध्यताको एउटा लामो यात्रा तय गरिसकेपछि उनलाई पढ्न खोज्दा ऊ झन् अलमलमा पथ्र्यो । ऊ आफ्नी प्रेमिकालाई नजिकबाट बुझ्न चाहन्थ्यो । लाग्थ्यो उनले पनि केही भन्न खोजिरहेकी छन् । तर त्यो संवाद सहज रूपमा हुन सकिरहेको थिएन । त्यसैले त धेरै भेटहरू एकालाप जस्तो भैदिन्थे । 

तर यो कर्फ्यूको धुवाँले ती विकसित हुनै बाँकी भावहरूलाई निमेषभरमै निमोठिदियो । ओठहरू खुल्नै नपाई सधैँका लागि बन्द भए । दैवको इन्साफमा स्वतन्त्रताको एउटा नायक स्थापित हुन उसको प्रेम बलीवेदीमा चढ्यो । 

अन्तिम पटक छुट्टिँदा प्रेमिकाका आँखामा आँसु थिए । ढुकढुकी हराँउँदै गइरहेको थियो । सक्ने भए उनले भन्ने थिइन्– मेरो दैहिक शरीरको एउटा भाग भत्किएको अवश्य छ तर प्रेमचैतन्य कत्ति पनि डगमगाएको छैन । तर त्यो भन्न सक्नुअघि नै उनी कुनै अलौकिक मुकामका लागि निःशब्द प्रस्थान गरिन् । सम्झनामा उनी पातलिएकी अवश्य छैनन् । तर समयको कथा बदलिएको छ । विजयपुरको अनाम साथी अहिलेसम्म पनि जेलमै छ । 

कीर्तिपुर