• १९ असोज २०८१, शनिबार

‘स्थानीय सरकार, हाम्रो सरकार’ भन्ने अनुभूति गराउँछौँ

blog

बनेपा समाचारदाता 

बनेपा, जेठ २२ गते । काभ्र्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष रेणुका चौलागाईंले आफ्नो कार्यकालमा ‘स्थानीय सरकार, हाम्रो सरकार’ भन्ने अनुभूति हुने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाको अस्पतालमा निःशुल्क उपचार गर्ने पहिलो प्रतिबद्धता जनाउनुभएको छ । 

मेरो कार्यकालमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई गाउँपालिकाअन्तर्गतको अस्पतालमा हुने सबै प्रकारका उपचार सुविधा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छु, उहाँले भन्नुभयो । प्राविधिक शिक्षा अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि गाउँपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो । गाउँपालिकावासीलाई स्थानीय सरकार हाम्रो सरकार, हाम्रो सत्ता हो भन्ने अनुभूति दिलाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुका साथै पालिकाभित्रका नागरिकको समस्या, गुनासो सुन्ने उहाँले बताउनुभयो । 

प्राविधिक शिक्षा अध्ययनका लागि के–कस्तो सहयोग उपलब्ध गराउन सकिन्छ, ज्येष्ठ नागरिकलाई के–कस्तो उपचार गर्ने भन्ने विषयमा हामीले गाउँपालिकामा कार्यविधि निर्माण गरेर कार्यक्रम सञ्चालन गर्नेछौँ, उहाँले भन्नुभयो । 

आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको निःशुल्क उपचारका साथै अस्पतालसम्म आउन नसक्ने बिरामी तथा नागरिकका लागि ‘टोल टोलमा निःशुल्क स्वास्थ्य शिविर’ समेत सञ्चालन गर्ने उहाँले बताउनुभयो । ‘हाम्रो गाउँपालिका जिल्ला सदरमुकाम तथा राजधानीबाट नजिक भए पनि विकट नै मानिन्छ, अहिले शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या देखाएर विभिन्न स्थानमा बसाइँसर्ने क्रम बढेको छ, उहाँले भन्नुभयो, हामी गाउँमा नै कसरी गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र रोजगारी उपलब्ध गराउन सकिन्छ भनेर विज्ञसँग छलफल गरेर नागरिकलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्नेछौँ ।

उहाँले गाउँपालिका कृषि तथा पशुपालनका लागि उपयुक्त भएको बताउँदै कृषि तथा पशुपालनमा आधारित कार्यक्रम अघि बढाउने बताउनुभयो । कुन स्थानमा कुन काम गर्दा राम्रो हुन्छ त्यसको अध्ययन गरेर खेती तथा पशुपालनलाई प्रोत्साहित गर्नेछौँ, अहिले टुक्रे र निर्वाहमुखी काम मात्रै भएका छन् हामीले कम्तीमा एउटा वडामा एउटा नमुना कार्यक्रम बनाउनुपर्छ, भन्ने हाम्रो सोच रहेको छ, उहाँले भन्नुभयो । 

गाउँपालिकाभित्र करिब ८० प्रतिशत खानेपानीको समस्या समाधान भएको बताउँदै बाँकी रहेका २० प्रतिशत घरधुरीमा खानेपानी, सिँचाइका लागि लिफ्टिङ, खानेपानीको मुहान संरक्षण, खोलाको बाँध तथा कुलो मर्मत गर्ने काम भइरहेकाले ती योजनाहरूलाई प्राथमिकता दिएर काम गर्ने उहाँले बताउनुभयो । नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा चौलागाईं जिल्लाको एक मात्र महिला गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।