रमेश पौडेल
पोखरा, चैत १७ गते । नेपाल र भारतको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको सो बैठकमा नेपालका तर्फबाट सहसचिव रामचन्द्र तिवारी र भारतका तर्फबाट भारतीय गृह मन्त्रालयका सहसचिव निहिर कुमारको नेतृत्व रहेको थियो ।
सो बैठकमा दुई देशबिचको आपसी हितको प्रवर्धन गर्ने सीमा पार अपराध नियन्त्रण, लागुऔषध, मानव बेचबिखन, अवैध व्यापार, अवैध मुद्रा, चोरी निकासीलगायत आपराधिक क्रियाकलाप नियन्त्रणसम्बन्धी सहमति भएको तिवारीले जानकारी दिनुभयो ।
बैठकमा विपत् व्यवस्थापनको पक्षमा दुवै देशबिच सहकार्य गर्ने, सीमा क्षेत्र आसपासमा भइरहेको पूर्वाधार निर्माणमा देखिएका विवादलाई दुई पक्ष समझदारीमा अन्त्य गर्ने, सिमा स्तम्भको नियमित मर्मतसम्भार रेखदेख गर्ने, आतङ्कवाद नियन्त्रणका लागि सूचनाको आदानप्रदान गर्ने, सिमा क्षेत्रबाट हुने प्रतिबन्धित औषधीको निकासी पैठारीमा रोक लगाउने, विषादीजन्य फलफूल तथा तरकारीको गुणस्तर जाँच गर्ने र जनस्वास्थ्यमा देखिएको असरलाई न्यूनीकरण गर्नेलगायतका विषयमा छलफल भएको सहसचिव तिवारीले बताउनुभयो ।
सो अवसरमा भारतीय गृह मन्त्रालयका सहसचिव कुमारले भारत र नेपालबिचको सम्बन्धलाई जनस्तरमा पु¥याउन मन्त्रालयस्तरमा भएको यस्ता बैठकले थप मद्दत पुग्ने बताउनुभयो । उहाँले यो बैठकले बहुपक्षीय सम्बन्ध विस्तार गर्न थप टेवा पुग्ने बताउनुभयो । उहाँले १४ औँ बैठक भारतमा गर्नेका निम्ति निमन्त्रणा दिनुभएको छ । जसले सीमासम्बन्धी मुद्दामा बलियो द्विपक्षीय सहयोगलाई प्रवर्धन गर्ने दुवै देशको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताउनुभयो ।
बैठकमा नेपालका नापी, भन्सार, अद्यागमन, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धानलगायतका उच्च प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो भने भारततर्फबाट पनि सोहीबमोजिमको सहभागिता रहेको थियो ।