• २७ वैशाख २०८१, बिहिबार

आपत्कालीन प्रतिकार्य र विपत्का लागि बजेट

blog

पहिरोले क्षतिग्रस्त भएको नरहरिनाथ गाउँपालिकाको शान्ति माध्यमिक विद्यालय । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, जेठ २१ गते । नेपाल रेडक्रस सोसाइटी कालीकोट जिल्ला शाखाले आपत्कालीन प्रतिकार्य कार्यक्रमका लागि एक करोड २६ लाख रुपियाँ खर्च गर्ने भएको छ । रेडक्रसले जिल्लाको नरहरिनाथ गाउँपालिकासँगको साझेदारीमा सो बजेट खर्च गर्न लागेको हो । 

एकीकृत पुनर्लाभ तथा आपत्कालीन प्रतिकार्य कार्यक्रम दोस्रोबाट विपत्मा ध्वस्त भएका संरचना निर्माणका लागि यस वर्ष एक करोड २६ लाख नौ हजार रुपियाँको बजेट गाउँपालिकासँगको साझेदारीमा खर्च हुने शाखाले जनाएको छ ।

शाखाले बाढीपहिरोबाट क्षति भएका संरचना निर्माणमा आफ्नो जोड रहेको जानकारी दिएको छ । शाखा सभापति बलप्रसाद सञ्ज्यालले गत वर्षको बाढीले क्षति पुगेको शान्ति माविको भवन निर्माण, बस्ती पुनस्र्थापनामा शौचालय तथा खानेपानी निर्माण, विद्यालयमा खानेपानी आपूर्ति, अतिजोखिम क्षेत्रमा ग्याबिन लगाउनेलगायतका काममा गाउँपालिकासँगको साझेदारीमा रेडक्रसको तर्फबाट एक करोड २६ लाख नौ हजार रुपियाँ खर्च गरिने बताउनुभयो ।

एकीकृत पुनर्लाभ तथा आपत्कालीन प्रतिकार्य कार्यक्रम दोस्रोबाट विपत्मा ध्वस्त भएका संरचना निर्माणका लागि यस वर्ष एक करोड २६ लाख नौ हजार रुपियाँको बजेट गाउँपालिकासँगको साझेदारीमा खर्च हुने शाखाले जनाएको छ ।

गत वर्ष पनि विभिन्न खानेपानी योजना निर्माण, विद्यालयका भवन, बाढीले ध्वस्त पारेका ढुङ्गेधारा निर्माण र बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको बताउँदै यो वर्ष केही बजेट आपत्कालीन कोषमा राखेर पीडित परिवारलाई प्रदान गरिने सभापति सञ्ज्यालले जानकारी दिनुभयो । 

नरहरिनाथ गाउँपालिकाले पहिले नै रेडक्रससँगको साझेदारीमा काम गर्दा कम्तीमा पनि एक आयोजनाको कुल लगानीको २० प्रतिशतमाथिको बजेटमा साझेदारी गर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले पहिलाको गाउँ सभाले निर्णय गरेकाले आफूले पनि त्यसैलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

रेडक्रसका केन्द्रीय कार्यक्रम संयोजक शेरबहादुर कार्कीले आगामी वर्षमा पनि गाउँपालिकासँगको साझेदारी कामको प्रतिफल हेरेर कार्यक्रम थप गर्ने बताउनुभयोे । गत वर्ष कोरोना रोकथाम, बाढीपीडितलाई सहयोग र विपत्का कारणले भत्केका संरचनाको पुनर्निर्माणमा रेडक्रस कालीकोट शाखाले काम गरेको बताइएको छ ।