• १८ चैत २०८१, सोमबार

उपत्यकाको सुरक्षा व्यवस्था बलियो

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १५ गते  । काठमाडौँमा शुक्रबार दुई वटा छुट्टाछुट्टै समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था बलियो पारिएको छ । 

गणतन्त्र पक्षधर र विरोधी राजावादी समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले दुई छुट्टाछुट्टै स्थान तोकी सही अनुसारको सुरक्षा व्यवस्थापन मिलाएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा सतर्कतासहितको तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।  तिवारीले भन्नुभयो, “दुई फरक समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम स्थल, र्‍यालीका लागि प्रयोग गरिने रुट फरक पारी सभास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।”  

उहाँले सुरक्षा व्यवस्थालाई मध्यनजर गरी दुवै समूहबिच छुट्टाछुट्टै छलफल र समन्वय भइरहेको र दुवै पक्षको प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो । समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूहले गणतन्त्रका पक्षमा प्रदर्शन गर्दै छन् । त्यस्तै राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरिएको छ । 

‘सुरक्षा व्यवस्था चुस्त रहोस्’ 

राष्ट्रिय मानव अधिकार आयोगले दुई छुट्टाछुट्टै प्रदर्शनको सुरक्षा व्यवस्था चुस्त बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सुरक्षा निकायका प्रमुखलाई निर्देश दिएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल भएको जनाएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले छलफलमा सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरेर सुरक्षा योजना तयार पारिएको जानकारी आफूहरूलाई गराएको उल्लेख गर्नुभएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले प्रदर्शनमा शान्तिसुरक्षालाई व्यवस्थित गर्न आवश्यक सम्पूर्ण सुरक्षा सतर्कता अपनाई मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।   

प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो ।

प्रदर्शनमा आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गर्दै आयोगका विभिन्न टोलीमार्फत मानव अधिकारको अनुगमन गर्ने पनि जनाएको छ ।  

सुरक्षा व्यवस्था बलियो

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभयो । दुवै पक्षले आयोजना गर्ने प्रदर्शन स्थल, र्‍यालीमा प्रयोग हुने रुटको सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक प्रहरी परिचालन गरिने पनि उहाँले बताउनुभयो ।

आचार्यले भन्नुभयो, “दुई समूहका छुट्टाछुट्टै प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाइसकेका छन् । यद्यपि फरक समूहका र्‍यालीबिच जम्काभेट र मुडभेड नहोस् भनेर आवश्यक सुरक्षा तयारी अपनाइएको छ ।’’ 

त्यसै गरी शुक्रबारका दुई फरक प्रदर्शनको सुरक्षाका लागि सशस्त्र प्रहरीले सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमान्डमा झन्डै दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेले प्रदर्शनको सुरक्षार्थ ५० वटा पल्टनका दुई हजारभन्दा बढी सशस्त्र प्रहरी प्रदर्शनी स्थल र र्‍याली हुने रुटमा परिचालन गरिएको बताउनुभयो । 

उहाँले १० वटा पल्टनबाट झन्डै ३५० जना सशस्त्रलाई आवश्यक परे परिचालन गर्ने गरी पूर्वतयारी (रिजर्ब) मा राखिएको पनि बताउनुभयो । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागले पनि सादा पोसाकमा आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।