यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) पुस ९ गते । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा १० बैदीमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
चितुवाको आक्रमणबाट मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा १० बैदी बस्ने ५० वर्षीया पावती डाँगी हुन् । घरदेखि करिब २.५ किलामिटर दक्षिणमा रहेको सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा एक्कासी चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट डाँगीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक देवेन्द्रबहादुर मल्लले बताउनुभयाे ।
पछिल्लो समयमा बर्दियामा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढ्दै गएको छ । गत पुस २ गते सोही वडा बस्ने ३१ वर्षीया दिनेश चौधरीको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । डिभिजन वन कार्यालयका अनुसार सामुदायिक वन क्षेत्रमा मात्र चालु आर्थिक वर्षको हालसम्म ४ महिला र एक पुरुष गरी ५ जनाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
सामुदायिक वनमा चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । गत पुस ३ गते बाघलाई नियन्त्रण लिनुपर्ने माग गर्दै सोही वडाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।