बहुविवाह त सबैले सुनेकै शब्द हो तर धेरैलाई बहुपति प्रथाका बारेमा ज्ञान नहुन पनि सक्छ । यो एक प्रकारको विवाह गर्ने प्रथा हो । हिमाली जिल्लामा लामा समुदायले धेरै पहिलेदेखि नै यो चलनलाई अनुसरण गर्दै आएका छन् । हुम्लामा अहिलेको ११औँ पुस्ताअघिदेखि बहुपति प्रथा चलनमा आएको स्थानीय बुद्धिजीवीलाई ज्ञात छ । त्योभन्दा पहिले के थियो, त्यसबारेमा कुनै जानकारी पाइँदैन ।
जसमा छोरा–नाति बराबरका जति जना देवर भए पनि यो प्रथाले श्रीमान्का रूपमा भाउजूले स्वीकार गर्नुपर्ने हुन्छ । स्वीकार गरिरहेको अवस्था पनि हो । घर तथा समाजमा जसले भाउजूलाई सहजै स्वीकार गर्छ, त्यसलाई घरको राम्रो र ज्ञानी सन्तानका रूपमा लिने पनि गरिन्छ । छोरा हुनु त फलानाको जस्तो भन्ने भनाइ पनि नभएको होइन । अन्यथा घरबाट निकाला पनि हुनुपर्छ, बहुपति प्रथा स्वीकार नगर्ने घरको सन्तानले । उसलाई घरबाट कुनै सम्पत्ति पनि पाउने हकअधिकार रहँदैन सामाजिक चलनअनुसार ।
अर्को बहुपति प्रथामा विवाह घरको जेठो दाइसँग मात्र हुने र अरू घरमा जति जना दाजुभाइ भए पनि उनै भाउजूलाई श्रीमतीका रूपमा स्वीकार गर्नुपर्ने स्थानीय नियमजस्तै हो । बहुपति प्रथामा जेठो सन्तानसँग विवाह हुँदा अरू भाइ लाइनमा बसेर रमिते भएर बस्नुपर्ने चलन पनि छ । त्यस नियमविरुद्ध कसैले न बोल्न सक्ने हिम्मत गर्न सक्छन् न त विद्रोह नै गर्न सक्छन् । बहुपति प्रथाबाट सन्तान जुन भाइबाट जन्मिए पनि बाबु भने घरको जेठो दाइ नै हुने चलन छ । यसलाई सबै भाइले सहज रूपमा स्वीकार गर्नुको विकल्प नै हुँदैन ।
बहुपति प्रथालाई घृणित रूपमा मात्रै हेर्ने जुन दृष्टिकोण छ, त्यो आफ्ना ठाउँमा ठीकै र मनासिव होला तर अघिल्लो पुस्ताका जानकार भने आर्थिक रूपमा सम्पन्नशाली हुन र गरिबीबाट मुक्ति मिल्नका लागि भने यो बहुपति प्रथा उपयुक्त माध्यम भएको स्वीकार गर्नुले पनि के भन्न सकिन्छ भने कतै लामा समुदायले गरिबीबाट बच्नकै लागि बहुपति प्रथा स्वीकार गरेका त होइनन् ? उनीहरूको भनाइमा तर्क पनि देखिन्छ । अर्को अहिलेजस्तो पढेलेखेको जमाना नभएर उतिबेला पशुपालन गर्नुपर्ने र त्यो पनि थरिथरिका पशुबस्तु पालन गर्दा घरका मानिस पनि बढी नै आवश्यकता पथ्र्यो । त्यति भएपछि छ महिना पाटनतिर र छ महिना औलतर्फ जाने गर्नाले पनि घरमा बस्न पाइँदैनथ्यो ।
त्यसैले आजसम्म यो प्रथा सहज रूपमा अगाडि बढेको हो भन्ने अर्काथरिको तर्क छ । यसमा पनि सत्यता देखिन्छ । पशुधन धेरै हुँदा घरका भाइहरू त्यतै लाग्ने गर्नाले घरमा कम बसेपछि यो चलन स्वीकार गर्न सहज भएको हो भन्ने भनाइ पनि बूढापाकाको छ । घरमा सबैजना सँगै बस्ने भनेकै वर्षको एक पटक जुन असोज–कात्तिक महिना मात्र पर्छ । यति भएपछि सबै भाइ बाहिर मात्र जाँदा कमाइ भने सबैले ल्याउने र घरमा पनि झैझगडा नहुने भएपछि सबैलाई स्वीकार गर्न कठिन नभएको हो ।
जतिबेला यो प्रथाको दबदबा थियो, त्यतिबेला यसका नकारात्मक पक्ष भए पनि त्यो बाहिर ल्याउन कसैले न आवश्यकता देखे न त बोल्न सके तर पनि यसका केही प्रत्यक्ष रूपमा देखिने नकारात्मक विषय पनि रहेका छन् । जसमा पहिलो कुरा सात जना दाजुभाइका श्रीमती एक जना मात्र भएपछि ती महिलामा कस्तो पीडा र समस्या थियो होला, सहजै अनुमान लगाउन सकिन्छ ।
त्यस्तै अर्को महिलामा विभिन्न खालका यौनजन्य सङ्क्रमण पनि नदेखिने गरेका होइनन् । ती सबै पीडा र समस्या बाहिर ल्याउन नसकेर महिलाले आफू मर्नु परेको थियो भन्ने पनि छन् । त्यसैगरी घरको सबै भाइको एक जना श्रीमती मात्र हुन थालेपछि टोलछिमेकमा विवाह गर्न नपाउने समस्या महिलामा पनि टड्कारो रूपमा देखियो । विवाह गर्न नपाएका युवती गाउँमा भन्दा बढी बजारकेन्द्रित हुन थाले, जसका कारण अन्तर्जातीय विवाह पनि बढी हुन थाल्यो ।
यी कुरालाई ध्यानमा राख्दा कुनै दिन घरघरमै बहुपति प्रथा कायम रहेको हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको वडा नम्बर ४ को बुराउसे गाउँमा अहिले भने सात घरधुरीमा मात्र यो प्रथा सीमित भएको छ । गाउँमा जम्मा ७१ घरधुरी रहेकोमा अन्य बाँकी सबैले एकल विवाह स्वीकार गरेपछि बहुपति प्रथा न्यूनीकरण हुँदै आएको हो । यो प्रथा त्यसै न्यूनीकरण भएको पाइँदैन । यहाँनेर यो बहुपति प्रथा न्यूनीकरण गर्नमा एउटा उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ । जस्तो– लभ म्यारिज गरेर बहुपति प्रथालाई चुनौती दिनुभएका सिमकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छविचन्द्र लामाले घरपरिवार मात्र होइन, छिमेक तथा आफन्तबाट त्यतिबेला तिरस्कृत हुनुपरेको थियो ।
विद्यार्थी जीवनबाटै विद्रोही स्वभावका लामा यसरी लामा समुदायमा एकल विवाह गर्ने पहिलो व्यक्ति भने होइनन् । उहाँभन्दा अगाडि एक जनाले एकल विवाह गरेको भए पनि पुस्तौँदेखि जरा गाडेको बहुपति प्रथालाई न्यूनीकरण गर्ने कामको सुरुवात भने आफूबाट भएको उहाँको दाबी छ । आफूले मन पराएर एकल विवाह गरेकी श्रीमती (रीता लामा) छोड्न पनि निकै दबाब आएको उहाँसँग ताजै अनुभव छ । सन्तानमा कान्छो छोरा भएकाले घरको कुनै सम्पत्तिमा दाबी नगर्ने र श्रीमती रीतालाई पनि नछोड्ने बताएपछि विछोडको दबाब आउन कम भएको लामाले उतिबेलाको स्मरण गर्दै सुनाउनुुभयो । यति कुराबाट पनि यो प्रथा कस्तो थियो भन्ने बुझ्न सहज होला । अहिलेको लामा समुदायको पुस्ता बहुपति प्रथाको विपक्षमा देखिन्छ ।
कुनै समय एक÷दुई जनाले घर तथा समाजबाट तिरस्कृत भएर गर्न थालिएको एकल विवाहले अहिले भने बुराउने गाउँमा ९१ दशमलव १५ प्रतिशत बुराउसेवासी एकल विवाह गर्न राजी भएका छन् । अझै गाउँमा नौ दशमलव ८५ प्रतिशत घरपरिवार बहुपति प्रथा मान्न तयार भएको भए पनि ती पनि सङ्क्रमणकालीन अवस्थामा छन् । यो अवस्था साबिकको बरगाउँ गाविसको पनि छ । केही दिनअघि मात्र बरगाउँले आफूलाई बहुपतिमुक्त गाउँ घोषणा गरेको छ । बिस्तारै हुम्ला जिल्लाबाटै बहुपति प्रथा न्यूनीकरण हुँदै गएको छ । यो हुनुमा थुप्रै आरोह–अवरोह पनि लामा समुदायका युवायुवतीले बेहोर्नु परेको छ ।
अर्को आमा बराबरको भाउजूलाई श्रीमती मान्न कठिन हुने अवस्था पछिल्लो पुस्ताले राम्रैसँग बुझेपछि र शिक्षामा पहुँच वृद्धि हुँदा बहुपति प्रथा न्यूनीकरण हुन सहयोग पुगेको हो । त्योसँगै पछिल्लो पुस्ताले देश–विदेश देखेको र कतिपय अवस्थामा हुम्लामा लामा समुदायमा बहुपति प्रथा भएको जिज्ञासाको उत्तर दिनुपर्दा युवामा यो प्रथाप्रति वितृष्ण जागेको छ । त्यस्तै पछिल्लो समय सार्वजनिक कार्यक्रम र समारोहमा बहुपति प्रथाविरुद्धका आवाज पनि निकै उठ्नाले थोरै भए पनि यसको न्यूनीकरणमा टेवा पुगेको हो ।
अर्को पुरानो अर्थ प्रणालीसँग सम्बन्धित भएर बहुपति प्रथा जोडिएको भए पनि अहिले भने बजार अर्थतन्त्रले गर्दा र जिल्लाभित्र सीमित लामा समुदाय बाहिरी संसारसँग पनि जानकार हुन थालेपछि यो प्रथालाई न्यूनीकरण गर्न बल पुगेको हो । जुन कुरा पछिल्लो पुस्ताका युवा सबै यो प्रथाविरुद्ध लाग्नु पनि मुख्य कारण देखिएको छ । यसको प्रतिफल एक जना महिलाले सात जनासम्म पति स्वीकार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।