• २९ फागुन २०८२, शुक्रबार

चीनद्वारा दुई परीक्षण उपग्रह अन्तरिक्षमा प्रक्षेपण

blog

एआईद्वारा निर्मित साङ्केतिक चित्र ।

बेजिङ, फागुन २९ गते । चीनले पृथ्वी अवलोकन सम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट शुक्रबार बिहान उक्त उपग्रह प्रक्षेपण गरिएको हो । 

बेइजिङ समयअनुसार बिहान ६:३३ मिनेटमा लङ मार्च-२डी नामक रकेट प्रयोग गरी उपग्रह अन्तरिक्षतर्फ पठाइएको थियो । प्रक्षेपणपछि ती दुवै उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रवेश गरेका छन् । यसलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि अर्को सफल उपलब्धि मानिएको छ ।

प्रक्षेपित उपग्रह परीक्षण प्रकृतिका हुन् र मुख्यरूपमा पृथ्वी अवलोकन सम्बन्धी प्रविधिको परीक्षण तथा प्रमाणीकरणका लागि प्रयोग गरिने जनाइएको छ । वैज्ञानिकले यसबाट विभिन्न अन्तरिक्ष प्रविधि, उपकरण र प्रणालीको कार्यक्षमता परीक्षण गर्ने अपेक्षा गरेका छन् । यस प्रकारका उपग्रहले पृथ्वीको सतह, वातावरण तथा अन्य प्राकृतिक अवस्थाबारे महत्वपूर्ण जानकारी सङ्कलन गर्न सहयोग पुर्याउँछन् । 

प्राप्त तथ्यांक भविष्यमा वैज्ञानिक अनुसन्धान, मौसम अध्ययन, विपद व्यवस्थापन तथा अन्य अन्तरिक्ष प्रविधिको विकासमा उपयोगी हुन सक्छ । यस प्रक्षेपणसँगै लङ मार्च रकेट शृङ्खलाको ६३२औँ उडान अभियान सफलतापूर्वक सम्पन्न भएको छ । चीनले पछिल्ला वर्षमा आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइ रहेको छ र विभिन्न वैज्ञानिक तथा प्राविधिक प्रयोगका लागि नियमितरूपमा उपग्रह प्रक्षेपण गर्दै आएको छ । रासस/सिन्ह्वा