अमरराज नहर्की
तनहुँ, फागुन २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँमा पेश गरिएको विवरण अनुसार डा. वाग्लेको निर्वाचन अभियानमा कुल २६ लाख ९० हजार ७५४ रुपियाँ खर्च भएको छ । निर्वाचन आयोगले तनहुँ क्षेत्र नं. १ का लागि तोकेको अधिकतम ३० लाख रुपियाँको खर्च सीमाभित्रै रहेर उहाँले यो विवरण बुझाउनुभएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र निर्वाचन आचारसंहिताको पालना गर्दै डा. वाग्लेका निर्वाचन प्रतिनिधि पदमराज न्यौपानेले फागुन २७ गते जिल्ला निर्वाचन कार्यालयमा उक्त खर्च विवरण पेश गर्नुभएको हो । सार्वजनिक गरिएको अनुसूची–४१ को विवरण अनुसार डा. वाग्लेको निर्वाचन अभियानमा सबैभन्दा ठुलो हिस्सा प्रचारप्रसार सामग्री र सवारी साधन व्यवस्थापनमा खर्च भएको देखिएको छ । जसमा प्रचारप्रसार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपियाँ र १५ दिनको सवारी साधन तथा इन्धन खर्चमा ४ लाख ५० हजार रुपियाँ खर्च भएको उल्लेख छ ।
यसैगरी, ४२ वटा वडामा कार्यालय सञ्चालनका लागि चार लाख २० हजार रुपियाँ, खाना, खाजा तथा अस्थायी बसोबासका लागि तीन लाख ४८ हजार ९०० रुपियाँ र विद्युतीय माध्यमबाट गरिने प्रचारप्रसारमा तीन लाख ४८ हजार ४६४ रुपियाँ खर्च भएको छ । ६९ मतदान केन्द्रमा बुथ प्रतिनिधि परिचालन गर्दा तीन लाख १९ हजार ३०० रुपियाँ खर्च भएको विवरणमा जनाइएको छ । अन्य खर्चहरूमा विविध शीर्षकमा एक लाख ४० हजार ७९२ रुपियाँ, मनोनयन दर्तामा १० हजार र मतदाता नामावली खरिदमा तीन हजार रुपियाँ खर्च भएको डा. वाग्लेको सचिवालयले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डा. वाग्ले ३८ हजार ४० मतसहित विजयी हुनुभएको हो । उहाँले आफ्ना मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ को फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । भट्टराईले १६ हजार २३१ मत प्राप्त गर्नुभएको थियो ।