प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), चैत १४ गते । गौर नगरपालिका कार्यालयले निर्माण गरिरहेको प्रवेशद्वारको कार्य रोकिएको छ ।
गौर चन्द्रनिगाहपुर सडक खण्ड सडक डिभिजन चन्द्रनिगाहपुरको अधिकार क्षेत्रभित्र पर्ने र डिभिजनको अनुमति बगेर नगरपालिकाले कार्य प्रारम्भ गरेकोले डिभिजनले रोक्का राखेको सडक डिभिजन चन्द्रनिगाहपुरका डिभिजन प्रमुख इन्जिनियर अरुणकुमार लाल कर्णले बताउनुभयो ।
प्रवेशद्वार निर्माणको अनुमति नै नलिई गौर नगरपालिकाले अनमोल निर्माण सेवासँग सम्झौता गरेको थियो । निर्माण सेवाले सडकको दुबैतिर पिलर तयार पारि सकेको र बिचको पिलरका लागि खाल्डो खने पश्चात सडक डिभिजन चन्द्रनिगाहपुरले निर्माण कार्यको विरोध गरेको थियो ।
स्वागतद्वार तथा प्रवेश द्वार निर्माणका लागि २०५८ सालमा तयार पारिएको मापदण्डमा प्रवेशद्वार निर्माण हुने ठाउँको दुबैतिर २०० मिटर दुरीसम्म चोक नहुनु पर्ने कानुनी व्यवस्था छ । त्यहि मापदण्ड पालना नभएको सडक डिभिजन चन्द्रनिगाहपुरको तर्क छ ।
कार्य रोक्का भएपछि प्रवेशद्वार निर्माणका लागि नक्सा, निवेदनसँगै अन्य आवश्यक कागजातसहित अनुमतिका लागि सडक डिभिजन चन्द्रनिगाहपुरमा गौर नगरपालिकाले निवेदन दिएको डिभिजन कार्यालयका सूचना अधिकारि शिवनारायण प्रसाद साह बताउनुहुन्छ ।
नगरपालिका कार्यालयले अनुमति माग गरेपछि आफ्नो राय प्रतिक्रियासहित डिभिजनले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयमा कागजात पठाएको डिभिजन प्रमुख कर्णले बताउनुभयो ।
प्रवेश द्वार निर्माण स्थल गौर नगरपालिका ७ का खुरसेनी रामका अनुसार प्रवेशद्वार निर्माणले सडक आवागमनमा कुनै पनि बाधा नहुने बताउनुभयो । सडक खण्डको बिचको भागमा एउटा पिलर रहने भएकोले सो का लागि खनिएको खाल्डोले हाल आवागमनमा अप्ठ्यारो भइरहेको र त्यसले दुर्घटना निम्त्याउन सक्ने खतरा रहेकोले बिचको खाल्डो पुरी आवागमन सहज बनाउने कार्यमा सहयोग गर्न सडक डिभिजन चन्द्रनिगाहपुरले गौर नगरपालिका कार्यालयलाइ पत्राचार गरेको छ ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले स्थलागत अनुगमन गरेपछि गर्ने निर्णय अनुसार प्रवेशद्वार निर्माण हुने नहुने टुङ्गो लाग्ने कार्यालय प्रमुख सुवराज न्यौपानेले बताउनुभयो ।