• १९ चैत २०८१, मङ्गलबार

उत्कृष्ट तीन कृषक सम्मानित

blog

उत्कृष्ट पशुपालक कृषक सम्मानित । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, चैत १४ गते । सल्यानमा उत्कृष्ट तीन जना पशुपालक कृषक सम्मानित भएका छन् । जिल्ला स्तरिय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्ला भित्रबाट ३ जना उत्कृष्ट पशुपालक कृषकलाई छानोट गरी सम्मान गरेको हो ।

प्रथम स्थान प्राप्त गरी सम्मान हुनेमा बागचौर नगरपालिका–१, ठिनबाङ निवासी बाख्रा फार्म सञ्चालन गरिरहेका कृषक कैलाश केसी रहनुभएको छ । उहाँलाई ३० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो। 

त्यसैगरी दोस्रो स्थानमा बनगाड कुपिण्डे नगरपालिका–१ निवासी भैँसी पालन व्यवसायी दीप बहादुर बस्नेतलाई २५ हजार नगद सहित सम्मान गरिएको छ । तेस्रो स्थानमा बनगाड कुपिण्डे नगरपालिका–८ निवासी बाख्रा पालन व्यवसायी भूपेन्द्र पुनलाई २० हजार सहित सम्मान गरिएको छ । 

सम्मानित किसानले आफुहरुले गरेको मिहिनेतको सम्मान भएकोले खुसी व्यक्त गर्नुभएको छ । बाख्रापालक किासन भुपेन्द्र पुनसुरुमा बाख्रापालन गर्न धेरै चुनौती आए, तर अहिले राम्रो आम्दानी गर्न सफल भएको बताउनुभयो ।

भैँसी पालक किसान दीप बहादुर बस्नेतले सरकारबाट यस्ता कार्यक्रम भएमा कृषकहरू अझै बढी आत्मनिर्भर बन्ने बताउनुभयो । उहाले भन्नुभयो, भैँसी पालनमा अझै धेरै सुधार गर्न चाहन्छु ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा बिहीबार शारदा नगरपालिका ६ बरलामा भएको वर्डफ्लु तथा जुनोटिक रोगसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा वर्डफ्लु, इकाइनोकोकक्स, रेबिज लगायत जुनोटिक रोगहरूको बारेमा छलफल गरिएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द बहादुर महतले ती रोगहरू फैलिने अवस्था र बच्ने उपायबारे प्रस्तुतीकरण गर्नुभएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले सल्यानमा संघ, प्रदेश र स्थानीय सरकारले उत्पादनमा आधारित कार्यक्रममार्फत किसानलाई व्यवसायिक बन्न प्रेरित गरेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले राज्यले किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।