• १९ चैत २०८१, मङ्गलबार

अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकताः प्रमुख महर्जन

blog

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

ललितपुर, चैत १४ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विकास निर्माणको हिसाबमा ललितपुर महानगरपालिका पुलमय भएको बताउनुभएको छ । बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ललितपुर महानगरपालिकामा आइसकेपछि हाम्रो यहाँको विकास पुलमय भएको छ । अहिले तीन वटा पुल त उद्घाटन नै गरिसक्यौँ । अर्को पुलको शिलान्यास चाहीँँ उहाँ आउनुभएको अगाडि नै भएको हो । तर अब निकट भविष्यमै त्यो पुलेका  पनि उद्घाटन हुन गइरहेको छ । कुसुन्तीमा अपाङ्गमैत्री पुल बनाइरहेका छौँ । त्यसमा चक्रपथ क्रस गर्न पुल बनाएको हौँ ।’’

उहाँले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको जानकारी दिनुभयो । उहाँले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताउनुभयो ।

उहाँले महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उहाँले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताउनुभयो । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

‘‘हालसम्मको तथ्याङ्क हेर्ने हो भने त्यहाँ पुल नभएका कारणले १६ जना मान्छेहरू ट्राफिक दुर्घटनामा अकालमा मृत्युवरण गरिसकेको छ । तसर्थ, म मेयरलगायत जनप्रतिनिधिहरूको प्रमुख दायित्व भनेकै नगरवासीहरूलाई सानोतिनो घाउचोट पनि नलागोस् भन्ने नै हो । मान्छे मर्नु भनेको त अकल्पनीय कुरा हो ।,’’ प्रमुख महर्जनले भन्नुभयो, ‘‘त्यहाँ थुप्रो मान्छेहरूले मृत्युवरण गरिसकेको कारणले त्यहाँ हामीले दुईटा कुराको व्यवस्थापन गर्न गइरहेका छौँ । एउटा अपाङ्गगतामैत्री पुल निर्माण गर्ने काम भयो । अर्को चाहिँ त्यहाँ बत्ती छैन, तर हामीले बत्ती राख्नका लागि सबै काम भइसकेको छ । ठेकेदार पनि मुबिलाइज भइसक्या छ  र आउँदो दशैँसम्म बत्ती राख्छौँ भनेको छ ।’’

प्रमुख महर्जनले रात्रीकालिन अवस्थामा हवाई जहाजबाट काठमाडौँ उपत्यका छिर्ने बित्तिकै जुन सहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुने गरी बत्ती राख्ने काम सुरु भएको बताउनुभयो ।