रामकृष्ण बोहरा
बागलुङ, चैत १४ गते । बागलुङ नगरपालिका २ ले गत साउनदेखि यता सुत्केरी भएका महिलालाई पोषण, सरसफाइ सामग्री र विभिन्न अत्यावश्यक वस्तु सहयोग गरेको छ । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत वडा नं. २ मा स्थायी बसोबास गर्ने र अस्थायी बसोबास गर्नेलाई पोषण र स्वास्थ्य तथा सरसफाइको सामान दिएको हो ।
वडा अध्यक्ष सुरज बोसेलले लक्षित समुहलाई अत्यावश्यक सामग्री हस्तान्तरण गर्नुभयो । केन्द्रले सुत्केरीका लागि एक÷एक क्रेट अण्डा, साबुन, मञ्जन, दाँत माझ्ने ब्रस हस्तान्तरण गरेको हो । गर्मी मौषममा बढ्ने डेंगु लगायतको रोगबाट सुत्केरीलाई बचाउन झुल पनि वितरण गरिएको हो । यो सहयोगले सुत्केरीले पोषण सेवा पाउने वडाध्यक्ष बोसेलले बताउनुभयो ।
बालबालिका र सुत्केरीलाई लामखुट्टेबाट सर्ने रोग नलागोस् भनेर साथ दिइएको केन्द्रकी प्रमुख शकुन्तला थापाले बताउनुभयो । बिहिबार सात जना सुत्केरीलाई सामग्री दिएर अभियान थालिएको हो । वडाभरका सबै लक्षित समूहलाई भेटेर पोषण तथा सरसफाई सामाग्री दिने योजना रहेको बोसेलले सुनाउनुभयो ।
यो अभियानका लागि वडा कार्यालयले तत्कालका लागि ५० हजार रुपियाँ बजेट विनियोजन गरेको बोसेलले जानकारी दिनुभयो । सामग्री पाएका सुत्केरीहरुले पनि पोषण र स्वास्थ्य सेवाका लागि सहयोग मिलेको प्रतिक्रिया दिनुभयो ।