काठमाडौँ, चैत १४ गते । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरूसँग आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सङ्क्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गर्नुभयो । उहाँले यसमा व्यापक परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै सङ्क्रमणकालीन न्यायको सम्बोधन नहुने जिकिर गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले एउटा सक्षम, स्वीकार्य, जनताले मानेको क्षमतावान, बुद्धिमान र विश्वासनीय आयोग बनाउन जरुरी रहेको बताउनुभयो । राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित हुनुपर्ने बताउनुभयो ।
‘‘सङ्क्रमणकालीन न्यायको अवस्थामा अहिलेसम्म राजनीतिले आरोहण गरिरह्यो र न्याय सुस्ताइरह्यो । यो परिस्थितिमा व्यापक रूपमा परिवर्तन हुनुपर्छ । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै अब सङ्क्रमणकालीन न्यायको सम्बोधन भयो भन्ने होइन । यो मिनिमम काम हो । यति मिनिमम काम गर्दा पनि सन्तोष मान्नुपर्ने अवस्थामा हामी छौँ ।,’’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘‘सन्तोष मान्नुपर्ने अवस्था हो र ? एउटा सक्षम आयोग, स्वीकार्य आयोग, जनताले मानेको आयोग, परिकल्पना भएको बुद्धिमान आयोग, क्षमतावान, बुद्धिमान र विश्वासनीय आयोग खोज्नुपर्छ । आयोगमा कुनै किसिमको अनुचित सौदा गर्ने हो भने यी प्रक्रिया निरर्थक हुने छन् । यस्तो नहोस् । राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित रहोस् । राजनीतिकर्मीले राजनीति गर्नुपर्छ । तर न्यायमा राजनीति नगर्नुहोला । पीडितको पीडाले पोलिरहेको ठाउँमा राजनीति नगर्नुहाेस् ।’’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने भन्दै चलखेल नगर्ने इमानदारिता आवश्यक रहेको बताउनुभयो ।