सिराज खान
नेपालगन्ज, चैत १४ गते । केही समय यता भारतबाट अवैध रूपमा भित्र्याइएका ठुलो परिमाणका प्रतिबन्धित कुखुराहरू प्रहरीले दिनदिनै बरामद गरिरहेको छ ।
यहाँस्थित नेपाल–भारत मुख्य नाकामा सुरक्षा व्यवस्था अतिनै कडा पारिएको र साइड नाकाहरूमा सशस्त्र प्रहरीको टोलीले नियमित गस्ती गरिरहेको अवस्थामा पनि अवैध रूपमा नेपाल भित्र्याइएको कुखुरा दैनिकजसो बरामद हुँदै आएको हो ।
यसैबिच भारतबाट अवैध रूपमा भित्र्याइएर ल्याइएको १५० किलो अवैध बोइलर कुखुरा प्रहरीले नेपालगन्जको परसपुरबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी साइँगाउँको संयुक्त टोलीले नेपालगन्ज–१७ परसपुरबाट १५० किलो बोइलर कुखुरा र तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बिहान १० बजे जिप्रकाबाट गएका प्रहरी वरिष्ठ नायब निरीक्षक नदिरमा खड्का र साइँगाउँ प्रहरी चौकी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक हरि खड्काको संयुक्त टोलीले अवैध रूपमा भारतबाट ल्याइएको सो बोइलर कुखुरासहित बा. ३५प. ४५९५ र भे.४प. ६३८२ नम्बरका दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको अवैध कुखुरासहित नियन्त्रणमा लिइएका दुई मोटरसाइकललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।