रमेश विश्वकर्मा
गुल्मी, चैत १४ गते । गुल्मीको सदरमुकाम तम्घासमा दोस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’’ भन्ने मुख्य नारासहित रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ नुनथलामा महोत्सव गर्न लागिएको अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
विशेषगरी जिल्लामा स्तिर रहेको आर्थिकलाई चलायमान बनाउन यहि चैत २९ देखि आगामी वैशाख १३ गतेसम्म दोस्रो गुल्मी महोत्सव–२०८१ तथा कृषि पर्यटन व्यापार एवम् औद्योगिक मेला सञ्चालन हुने उहाँले बताउनुभयो । महोत्सवबाट जिल्लाको आर्थिकलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रचारप्रसारसँगै उत्पादनको प्रवर्द्धन गरिने गुल्मी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताउनुभयो ।
स्थानीय उत्पादनलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराइनुका साथै स्थानीय कला–संस्कृतिलाई समेत विशेष प्राथमिकता दिइने उहाँले बताउनुभयो । महोत्सवलाई सफल बनाउन निकै क्रियाशील भएर सबै लागिएको आयोजक संस्थाका सचिव सूर्य घिमिरेले बताउनुभयो । महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन १७ वटा उपसमिति गठन गर्नुका साथै मेलालाई आकर्षण बनाउन लागिएको उहाँले बताउनुभयो । स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको दिनहुँ प्रस्तुति रहनेछ ।
महोत्सव अवलोकनका लागि टिकट १०० रुपियाँ निर्धारण गरिएको छ । ७० वर्षभन्दा माथि, पाँच वर्ष मुनिका बालबालिका र अशक्तलाई निःशुल्क प्रवेश गराइनेछ । विद्यार्थीलाई टिकटको ५० प्रतिशत छुट प्रदान गरिनेछ । गुल्मी चेम्बर अफ कमर्सले गरेको आम्दानीबाट विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्ने बताइएको छ ।