• १७ चैत २०८१, आइतबार

बेलिब्रिज जीर्ण हुँदा बढ्यो जोखिम

blog

बेनी–जोमसोम सडकअन्तर्गत रुप्से झरनामा निर्माण गरिएको बेलिब्रिज । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १४ गते ।
राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने चार वटा बेलिब्रिज जीर्ण भएका छन् । दसदेखि १५ वर्ष अघि निर्माण गरिएका उक्त बेलिब्रिजहरू जीर्ण भएसँगै दुर्घटनाको जोखिम बढेपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले बढी तौल भएका गाडीहरू वारपारमा प्रतिबन्ध लगाएको छ ।

आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईले म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ, वडा नम्बर ३ दानाको रुप्से झरना, मुस्ताङको बोक्सीखोला र टुकुचेको थापाखोलामा निर्माण गरिएका बेलिब्रिजहरू जीर्ण बनेकाले १८ टनभन्दा बढी तौल भएका गाडीहरूलाई आवतजावतमा प्रतिबन्ध लगाइएको बताउनुभयो ।

बढी तौलका गाडी गुडाउँदा बेलिब्रिज जीर्ण बन्नुका साथै दुर्घटना हुने जोखिम बढेको उहाँले बताउनुभयो । बेलिब्रिजमा बढी तौल भएका गाडीहरू आवतजावत नगर्न आयोजनाले सूचना बोर्ड राखेको छ ।

उहाँले भन्नुभयो, ‘‘सडकमा १५ वर्ष पुराना बेलिब्रिज भएकाले गाडीसहित जम्मा १८ टनभन्दा बढी तौल भएका गाडीहरू गुडाउनु हुँदैन । अहिले २८ देखि ३० टनसम्म बोकेका गाडीहरू बेलिब्रिजबाट आवतजावत गरिरहेका छन् । धैरै तौल भएका गाडीहरू गुड्दा बेलिब्रिज भाँचिने र भत्किने जोखिम बढेको छ, त्यसैले १८ टनभन्दा बढी तौल भएका र १२ चक्के गाडीलाई प्रतिबन्ध नै लगाउने निर्णय गरेका छौं ।’’

रुप्से झरनामा निर्माण गरिएको बेलिब्रिज अलिकति लच्किएकाले दुर्घटनाको जोखिम बढेसँगै बढी तौल बोकेका सवारीसाधनलाई रोकिएको उहाँले बताउनुभयो । निर्माण र खाद्य सामग्री बोकेका १८ टनभन्दा बढी तौल भएका ट्रक, टिप्पर, लरी र टेलर बेलिबिज्रबाट वारपार गर्दा भाँचिने र भत्किने जोखिम भएकाले त्यस्ता गाडीहरू बेलिब्रिजबाट वारपार नगर्न सूचना टाँस गरिएको आयोजनाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले क्षमताभन्दा बढी तौल भएका सवारी साधनहरू बेलिब्रिजबाट वारपार गर्दा जोखिम बढेकाले निगरानी थालिएको बताउनुभयो । 

निर्माणको क्रममा रहेका बेनी–जोमसोम–कोरला सडकमा पक्की पुल निर्माण नभएका ठाउँमा अस्थायी रूपमा सवारी साधन आवतजावतका लागि बेलिब्रिज जडान गरिएको थियो । पक्की मोटरेबल पुल निर्माणका लागि आयोजनाले पुलको डिजाइन तयार पार्न लागेको आयोजनाका इन्जिनियर चापागाईले जानकारी दिनुभयो  ।