• ८ पुस २०८१, सोमबार

हराउन थाल्यो गाउँघरका महिलाले खोपाउने ‘गोदना’

blog

स्मृति मिश्र

जनकपुरधाम, जेठ २० गते । धनुषाको दक्षिणी सीमान्त नगरपालिका नगराइनकी ६५ वर्षीया ममता यादवले नाडीमा आफ्नो नामसँगै श्रीमान् प्रमोदको नाम खोपाउनुभएको छ । तीन छोराछोरीकी आमा भइसकेपछि गाउँमै उहाँले नाडीमा श्रीमान्को नाम खोप्नुभएको हो ।

‘त्यतिबेला घर आँगन बाहिर जान नै गाह्रो थियो । कहिलेकाहीँ गाउँ पञ्चायतसम्म पुगिन्थ्यो । त्यहाँ श्रीमान्को नाम सोधेपछि सप्को सारेर नाडी देखाउँथें,’ उहाँले स्मरण गर्नुभयो । नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला सदरमुकाम जनकपुरधाम आउँदा पनि उहाँलाई नाडीमा खोपिएको नामले गर्दा सजिलो भएको अनुभव छ । 

भारतीय छोरी नेपाली बुहारी भएर आउँदा दिइने अंगीकृत नागरिकताका लागि निकै केरकार हुनेबेलामा उहाँलाई अड्डाका हाकिमहरूले कागजपत्र मात्र हेरेर नागरिकता प्रमाणपत्र दिएका थिए ।

जिल्लाको बटेश्वर गाउँपालिकाकी ५५ वर्षीया कबिलासी महतोले पनि तीन दशकअघि नै नाडीमा श्रीमान्को नाम खोपाउनुभयो । गाउँघरकै अर्काको सिको गरेर उहाँले ‘पतिदेव’ को नाम हातमा खोपाउने रहर गर्नुभएको हो । खेतीकिसानी गर्ने महतो परिवारमा अड्डा अदालतबाट मानिस आउँदा घरमूलीको नाम बुझ्न त्यही हातमा खोपिएका नाउँले सघाउ पुग्थ्यो । ‘लोग्नेमानिस खेतबारीतिर भएकाबेला कोही आएमा हातमा खोपिएका नामले नै कसको घर हो भनी थाहा पाउँथे,’ कबिलासीले भन्नुभयो । 

समाजको चालचलन बदलिएपछि अहिले नयाँ बुहारीले समेत लोग्नेका नाम उच्चारण गर्न थालेकाले पहिलेझैं कठिनाइ नहुने उहाँको बुझाई छ । तर पहिले महिलाले लोग्ने तथा ससुराका नाम लिँदा प्रतीक र संकेतहरूको प्रयोग गर्ने परम्परा रहेको उहाँको भनाई छ । श्रीमान्को नाम सूर्य हुँदा सूर्यतिर देखाउने र राम हुँदा भरतका जेठा भाइ भन्ने अभ्यास केही वर्ष अघिसम्म चल्थ्यो । अझ् यो चलन पाका महिलामा छँदैछ । हातमा नाम खोपाउनाले प्रतीक र संकेतमा भन्नुपर्ने बाध्यतामा कमी ल्याएको थियो । 

महिलाले ‘सुन्दरताको प्रतीक’का रूपमा गोडा, हात र निधार तथा घाटीमा खोपेर टीका बनाउने परम्पराले हातमा श्रीमान्को नाम खोपाउन सुरु भएको संस्कृतिविद्हरूको भनाई छ । ‘अक्षर खोपाउने काम त धेरैपछि आएको हो । असाक्षरहरुको सँख्या बढी भएको समाजमा महिलाले शृङ्गारकै रूपमा शरीरका विभिन्न अङ्ग खोपाउन सुरु गरेका हुन्,’ सँस्कृतिविद् तथा मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले बताउनुभयो ।  

प्राचीन युगमा शरीरमा पहिरिने आधुनिक शृङ्गारका वस्तु उत्पादित थिएनन् । त्यही भएर प्राकृतिक रूपमै खोपेर शरीर रङ्गाउँथे । सियो बन्नुअघि खोप्न जङ्गली काँडाको प्रयोग गरिन्थ्यो । जङ्गली काँडामा बेलका काँडा बढी प्रयोगमा आउँथ्यो । पछि सियो उत्पादन भएपछि कालो कपडामा सियो राखेर त्यसको माध्यमबाट महिलाले शरीरका पाखुरा, गोडा, निधारसहित अन्य भाग रङ्गाउन खोप्ने प्रचलन शुरु भयो । यसलाई मिथिलामा गोदना भनिन्छ । 

आजकोजस्तो ट्याटु बनाउने मेसिन र खोपाउने इलम भएका व्यावसायिक व्यक्ति नहुँदा   पहिला गाउँघरकै सिपालु सदस्यले खोप्ने काम गर्थे । कतिपय अवस्थामा एकअर्काका शरीर खोप्ने र विभिन्न बुट्टा बनाउने काम हुन्थ्यो, उहाँले भन्नुभयो । महिलाले खोपाउँदा टीका र मालाको आकृति घाँटीमा बनाइन्थ्यो । ‘यसले शरीर सुन्दर देखिने र महिलाका लागि शारीरिक शृङ्गारको काम गथ्र्यो,’ संस्कृतिविद् डा. झाको बुझाई छ । 

खास जातजातिमा महिलाले शरीर खोप्नु अनिवार्यजस्तै थियो । शरीर नखोपेका महिलालाई मृत्युवरण भएपछि भगवानले नर्कमा पठाउँछन् भन्ने जनविश्वास थियो । यो विश्वास कतिपय समुदायमा अझै छ उहाँले भन्नुभयो ‘त्यही विश्वासका आधारमा महिलाले शरीर खोप्न लगाउँथे ।’ 

घाँटीमा खोपाएर हारको आकृति बनाइँदा यदुकोहाकी रानी सदा आठ वर्षको मात्र हुनुहुन्थ्यो । आमाको करकापले उहाँको शरीर खोपाइएको थियो । सियोले गोदाउँदा सदालाई असह्य पीडा भएको अनुभव छ । एकाध दिन त ज्वरो नै आयो । घाउ बिसेक भएसँगै ऐना हेरेर सदा धेरै दिनसम्म रमाउनुभयो । अहिले ३० वर्ष कट्नुभएकी सदा भन्नुहुन्छ, ‘सुन्दर देखिएपछि छोरी बिकाउन सजिलो हुन्छ भनेर बाआमाले गोदाइ दिनुभएको थियो । गोदाउन पाउँदा मलाई पनि उतिकै खुसी लाग्यो ।’

शरीरमा धारण गर्ने सबै शृङ्गार वा गरगहना क्षणिक हुन्छ । सुनचाँदीका गहना लगाउँदा मरेपछि सँगै लग्न पाइँदैन । तर शरीरमा खोपेको शृङ्गारका आकृति मरेपछि पनि शरीरसँगै जाने विश्वास पनि गोदनाको महत्व बढाएको गृहिणी रूपा कर्णको भनाई छ ।   

ट्याटु बनाउने युग आरम्भ भएपछि कालो रङ्गको प्रयोग हुने गोदना हराउँदैगएको स्थानीयको भनाई छ । लोग्नेको आयुवृद्धि हुने मनोसामाजिक धारणा र प्राकृतिक रङ्गको प्रयोग परम्परा अझै गाउँघरका कुनाकाप्चामा जीवित रहेपनि खोपाउने परम्परा हराउन थालेपछि बयोबृद्धहरु चिन्ता व्यक्त गर्नुभएको छ ।