• १९ चैत २०८१, मङ्गलबार

पेट्रोलियम पदार्थको आयात बढ्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १४ गते । चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयात वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुनसम्म एक खर्ब ७६ अर्ब १३ करोड २९ लाख १२ हजार रुपियाँ बराबरको १८ लाख ७० हजार ७७३ किलोलिटर इन्धन आयात भएको छ । 

गत वर्ष सो अवधिमा एक खर्ब ८३ अर्ब ९१ करोड ७२ लाख २९ हजार रुपियाँ बराबरको १७ लाख ६७ हजार ९३७ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको आठ महिनाको तुलनामा चालु आवको सो अवधिमा झन्डै एक लाख किलोलिटर इन्धन आयात बढी भएको छ । 

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा खपत बढेसँगै आयातमा समेत सामान्य वृद्धि भएको जानकारी दिनुभयो । परिमाणमा इन्धन आयात बढे पनि रकममा भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले इन्धनका लागि बाहिरिने सात अर्ब रुपियाँ कमी भएको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०.१३ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्छ । 

विभागका अनुसार आठ महिनामा सबैभन्दा धेरै ७८ अर्ब ८६ करोड ३७ लाख ४५ हजार रुपियाँ बराबरको आठ लाख ७१ हजार ३९९ किलोलिटर डिजेल आयात भएको छ । कुल इन्धन आयातमा डिजेलको हिस्सा ५० प्रतिशत रहेको छ । 

यस्तै ४२ अर्ब ८० करोड १७ लाख १३ हजार रुपियाँ बराबरको चार लाख ८९ हजार ८४२ किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै १२ अर्ब ७१ करोड १२ लाख ३१ हजार रुपियाँ बराबरको एक लाख ३९ हाजर १५३ किलोलिटर हवाई इन्धन आयात भएको छ । ७५ करोड ५२ लाख ३६ हजार रुपियाँ बराबरको आठ हजार २८४ किलोलिटर मटितेल आयात भएको छ ।