• १९ चैत २०८१, मङ्गलबार

एसइईका परीक्षार्थीलाई टेलिकमको अफर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १४ गते । नेपाल टेलिकमले २०८१ सालको एसइई परीक्षामा सहभागी परीक्षार्थीका लागि एसइई अफर २०८१ उपलब्ध गराउने भएको छ । 

यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका परीक्षार्थीलाई २० रुपियाँमै सिमकार्ड उपलब्ध गराउने जनाएको छ । उक्त सिममा रिचार्जबापत बोनस पनि पाउने सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । आगामी शुक्रबारदेखि २०८२ असारसम्म उपलब्ध हुने यस्तो अफर टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुने छ । 

सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफर पनि हुने कम्पनीले जनाएको छ । पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफर उपभोग गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । 

नयाँ सिम प्राप्त गरेका परीक्षार्थीले सिमकार्डमा मुख्य ब्यालेन्सका रूपमा उपलब्ध हुने रकमबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा प्रयोग गर्न सक्ने पनि कम्पनीले जनाएको छ । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट भ्वाइस सेवा, १० वटा र पाँच सय एमी डेटा पनि परीक्षार्थीले प्राप्त गर्ने छन् । 

नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसइईको प्रवेशपत्र कक्षा १० को लब्धाङ्कपत्रको फोटोकपी, एक प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।