• १९ चैत २०८१, मङ्गलबार

वस्तु बिक्रीमा ‘एमआरपी’ अनिवार्य, उल्लेख नभए विक्रेतालाई कारबाही

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १४ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी), परिणाम, तौल र गुणस्तरको उल्लेख नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको छ । विभागले बुधबार पत्रकार सम्मेलनमार्फत उपभोक्ता संरक्षण ऐनमा भएको व्यवस्थाबमोजिम उत्पादनले आफूले उत्पादन गरेका वस्तुको एमआरपी, गुणस्तर र परिमाणसहित उत्पादन एवं प्रयोग मिति स्पष्ट नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको हो । 

कार्यक्रममा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले प्रचलित कानुनविपरीत हुने गरी केही उत्पादक र पैठारीकर्ताले एमआरपी उल्लेख नभएका र बिनालेबलका उत्पादन बजारमा खुला बिक्रीवितरण गरेको अनुगमनमा पाइएको जानकारी दिनुभयो । एमआरपीबिनाका वस्तु बजारमा ल्याउनु गलत भएको थाहा हुँदाहुँदै पनि ठुला व्यापारीमै मिचाहा प्रवृत्ति पाइएकाले अब यो छुट कसैलाई नहुने उहाँले बताउनुभयो । असाध्यै ठुलो परिमाणमा कारोबार हुने सिमेन्ट र फलामे डन्डीका उत्पादक उद्योगले एमआरपी नै नतोकी बजारमा पठाउने गरेको पाइएको पनि उहाँले जानकारी दिनुभयो । “सिमेन्ट र डन्डी उत्पादक उद्योगीलाई छुट्टाछुट्टै बोलाएर एक साताभित्र एमआरपी तोकेर मात्रै सामान उद्योगको गेटबाट बाहिर निकाल्न भनेका छौँ,” उहाँले भन्नुभयो ।  

महानिर्देशक दाहालले एमआरपी तोक्ने विषयमा उद्योगी सकारात्मक भएकाले एक सातापछि एमआरपी नतोकिएका सिमेन्ट र डन्डी बजारमा ल्याएमा जफत गरेर कारबाही गर्ने चेतावनी दिनुभयो । त्यस्तै उहाँले उत्पादक र व्यवसायीले वस्तुको एमआरपी तोक्दा औचित्य पुष्टि गर्नुपर्ने, अनुचित मूल्य तोकेको भेटिए कानुन अनुसार कारबाही हुने 

स्पष्ट पार्नुभयो ।   उहाँले उत्पादनमा अधिकतम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रस्ट रूपमा लेख्नुपर्ने कानुनी व्यवस्थाविपरीत उत्पादक र व्यवसायीले कानुनविपरीत बिनालेबलका सिमेन्ट र डन्डी बिक्री गर्ने पाँच डिलरलाई बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार काठमाडौँमा रहेको कोटेश्वर डन्डी टे«ल्र्स, पञ्चकन्या हार्डवेयर, भवानी माँ हार्डवेयर, विक्की हार्डवेयर हाउस र राजेश हार्डवेयरको बिक्रीवितरण रोक्का गरी तीन दिनभित्र मूल्य बढ्नु परेको औचित्य पुष्टि हुने कागजातसहित विभागमा उपस्थित हुने निर्देशन दिइएको छ ।