भैरहवा समाचारदाता
भैरहवा, चैत १४ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभएको छ । उहाँले लुम्बिनीमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।
रुपन्देहीको भैरहवामा बुधबार आयोजित ‘लुम्बिनीको सामथ्र्य’ विषयक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । “लुम्बिनीको सामथ्र्य धेरै फराकिलो छ, निजी क्षेत्रका लागि यो महत्वपूर्ण ठाउँ हो,” उहाँले भन्नुभयो, “यहाँका सम्भावनालाई व्यवसायसँग जोड्न म आग्रह गर्दछु ।”
लुम्बिनीले नेपालको अर्थतन्त्रलाई उचाइमा पुर्याउन सक्ने उहाँले बताउनुभयो । “सहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रको हिसाबले लुम्बिनीले अग्रणी स्थान हासिल गर्न सक्छ,” उहाँले भन्नुभयो, “हामीले गरेका प्रयासमा साथ दिन अपिल गर्छौं ।”
अर्थमन्त्री पौडेलले लुम्बिनी प्रतिफलका निम्ति अनुकूल ठाउँ रहेको दाबी गर्नुभयो । हरेक मानकमा लुम्बिनी अग्रसर भएको उहाँको भनाइ छ । “भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएका महत्वपूर्ण सम्पदा छन्, यहाँ राम्रा र स्तरीय होटेल छन्, बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । यहाँ लगानी गर्नेले घाटा बेहोर्नु पर्दैन, नाफा राम्रो कमाइन्छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् । कोही लगानी गर्न छुट्नुभएको छ भने लगानी गर्नूस् ।”
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले निजी क्षेत्रको आत्मबल र आत्मविश्वास बढाउन कुनै कसर बाँकी नराखेको उहाँले दाबी गर्नुभयो । नेकपा (एमाले) का उपाध्यक्षसमेत रहनुभएका पौडेलले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने बताउनुभयो ।
“लुम्बिनीको समग्र अनुहार बदल्छौँ, लुम्बिनी गुरुयोजना पूरा गर्न बाँकी छ,” उहाँले भन्नुभयो, “लुम्बिनी विकास कोषको नेतृत्व क्षमताको सीमाका कारण जुन रूपमा काम अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन,” उहाँले भन्नुभयो । आर्थिक सामाजिक क्षेत्रका समस्या समाधानका लागि सरकार अघि बढेको उहाँको भनाइ छ ।
अर्थमन्त्री पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने पनि बताउनुभयो । उहाँले निकट भविष्यमै विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नका लागि महत्वपूर्ण निर्णय भएको पनि जानकारी दिनुभयो ।
विमानस्थलको अहिलेको टर्मिनल सानो रहेकाले त्यसलाई आन्तरिक टर्मिनलका रूपमा परिणत गर्ने र अन्तर्राष्ट्रिय उडानका लागि अर्को टर्मिनल बनाउने जानकारी दिँदै उहाँले त्यसो भएमा यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि नेपालकै सबैभन्दा ठुलो, पर्याप्त पूर्वाधारसहितको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुने दाबीसमेत गर्नुभयो ।