गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १४ गते । नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रमका सहभागीले विधेयक यही हिउँदे अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसबाट देशभरका पालिकामा जितेका पालिका अध्यक्ष तथा उपाध्यक्षसँग केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले विधेयकका विषयमा विमर्श गरेको हो ।
छलफललाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डो¥याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उहाँको भनाइ छ । शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बतानुभयो ।
त्यस्तै उहाँले नेपालमा शिक्षाको लहर २००७ सालको क्रान्तिपछि आएको भन्दै अब समयानुकूलको शिक्षा दिन सक्नुपर्ने धारणा राख्नुभयो । अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
विभागले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै महरले शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्नका लागि विमर्श गरिएको बताउनुभयो । “स्थानीय प्रतिनिधिहरूको धारणा के छ, विद्यालय शिक्षा विधेयकमा के सुधार गर्नुपर्ने छ र कांग्रेसबाट विधेयकका विषयमा बोक्नुपर्ने एजेन्डा के के हुन् भन्ने विषयमा छलफल गर्दै सुझाव सङ्कलन गरेका छौँ । उहाँहरू सबैले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन जसरी पनि शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड दिनु भएको छ,” महरले भन्नुभयो ।
शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला आफूहरूको नीति र प्राथमिकतामा पनि रूपान्तरण आवश्यक रहेको उहाँले बताउनुभयो । “राष्ट्रिय आवश्यकतामुखी एवं अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षाका लागि नीतिमा सामयिक सुधार जरुरी छ,” महरले भन्नुभयो ।