• १७ चैत २०८१, आइतबार

गुल्मीमा ७९ जनाको आँखाको शल्यक्रिया

blog

नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्रमा मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामीहरु । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा, चैत १३ गते । शल्यक्रियापछि आँखा देख्नु भएकी छत्रदेव गाउँपालिका –८ अर्घाखाँचीकी ५० बर्षीया जालपा नेपाली गाउँमै सेवा पाएकोका खुसी देखिनुभयो ।

उहाँका दुवै आँखा कम देख्ने समस्या थियो । दुई पटक दुबै आँखाको शल्यक्रिया गरेर पुरानै अवस्थामा फर्किएपछि नेपाली खुसी नहुने कुरै भएन । अर्घाखाँचीको छत्रदेव र मालारानीका धेरै नागरिक बजार र उपचारका लागि नजिक भएकाले तम्घास आउँछन् । 

त्यस्तै, धुर्कोट गाउँपालिका –३ का ९२ बर्षीय धनिश्वर भलामीदाई बुढ्यौलीमाथि आँखाको समस्याले जीवन झन कष्टकर थियो । भर्खरै सदरमुकाम आएर आँखाको शल्यक्रिया गरेपछि अवस्था सामान्य बन्यो । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र गुल्मीले ४७ औं नेत्र दिवस तिनै बिरामीलाई फलफूल वितरण गरेर सम्पन्न गरेको छ । 

नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्दले मासिक रुपमा ११ र १२ गते शल्यक्रिया गर्नेगरेको छ । लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानको नेत्र रोग बिशेषज्ञ डा. लक्ष्मी मानन्धरले मोतियाबिन्दुको बिरामीहरुको शल्यक्रिया गर्नुभयो । मानन्धरले शल्यक्रियापछि आँखा झन बढी संवेदनशील हुने भएकाले बिशेष हेरचाह गर्न बिरामीलाई सुझाव दिनुभयो । 

नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रले सदरमुकाममा नियमित सेवा दिएको छ भने दुर्गम गाउँहरुमा समेत मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरहरु गर्ने तथा प्राविधिक सहयोग गर्ने गरिरहेको छ । मालिका, मदाने, कालिगण्डकी, सत्यवति र चन्द्रकोटलगायतका स्थानीय तहमा शिबिर सञ्चालन गरेर दुर्गममा बर्षौ आँखाको समस्या झेलेर बसेकाहरु पनि उपचारको पहुँचमा आउन थालेका छन् । 

नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रका सूचना अधिकारी बीरबहादुर कार्कीका अनुसार बार्षिक ३३ हजारको आँखा परीक्षण तथा पाँचसय १५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरिएको छ । यो आर्थिक बर्षमा नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रले नौ हजार ९१५ को आँखा परीक्षण तथा दुईसय ५५ जना शल्यक्रिया गरेको कार्कीले जानकारी दिनुभयो । 

वामी र खैरेनीमा सञ्चालन भएको शिविरमा ७९ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । जिल्लाका ४६ हजार ५२० सय बिद्यार्थीको दृष्टि परीक्षण पनि केन्द्रमार्फत भएका छन् । जिल्लाभरका चारसय ५९ बिद्यालयका चारसय ८२ शिक्षकलाई तालिम दिएर बिद्यार्थीको दृष्टि परीक्षण गरिएको नेपाल नेत्रज्योति संघका सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

अभियानबाट दुई हजार ६६७ जनालाईको आँखाको समस्या पहिचान भएको छ । यो कार्यक्रमले घर घरमा बिद्यार्थीमार्फत आँखा हेरचाह र उपचारको सचेतना फैलिएको पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पाँच स्थानीय तहले केन्द्रसँग सम्झौता गरेर मोतियाबिन्दुका समस्या भएका नागरिकको निःशुल्क शल्यक्रिया गर्नेगरेका छन् । सुगमदेखि दुर्गमसम्म सेवा दिन सकेकोमा आफुहरु निकै खुसी भएको नेपाल नेत्रज्योति संघ गुल्मीका पूर्व अध्यक्ष शेर बहादुर थापाले बताउनुभयो ।