काठमाडौँ, चैत १३ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको आफ्नो लिग चरणको खेलमा एपिएफले कोशी प्रदेशलाई दुई विकेटले हराएसँगै फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । १० टोली सहभागी प्रतियोगितामा पुलिस पहिलो र आर्मी दोस्रो बन्दै फाइनलमा पुगेको छ ।
एपिएफ तेस्रो भएको छ । पुलिस र आर्मीबिच लिग चरणको एक खेल खेल्न बाँकी छ । यी दुई टोलीबिच उपाधिका लागि अर्को भिडन्त हुनेछ । जितका लागि कोशीले दिएको दुई सय ५५ रनको लक्ष्य पछ्याएको एपिएफले ४४.४ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
एपिएफका लागि लोकेश बमले अविजित ८४ रन बनाउनुभयो । यस्तै कप्तान रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दीप जोराले ३०, इर्सद अहमदले अविजित १६ र अभिषेक गौतमले १४ रन जोड्नुभयो । लोकेश बम प्लेयर अफ दी म्याच हुनुभयो ।
बलिङमा कोशीका फिरदोस अन्सारी र दिपेश कँडेलले तीन तीन विकेट लिनुभयो । ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुईँटेलले एक एक विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ५४ रन बनाएको थियो ।
कोशीका लागि शकिब हकले सर्वाधिक ६८ रन बनाउनुभयो । यस्तै कप्तान अंकित सुवेदीले ३५, आइस भट्टराईले ३४, सुजन थपलियाले ३३, चिराग साहले २४ र फिरदोस अन्सारीले १२ रन जोड्नुभयो ।
बलिङमा एपिएफका अभिषेक गौतम र मौसम ढकालले तीन तीन विकेट लिनुभयो । रोहितकुमार पौडेलले दुई तथा इर्साद अहमद र अमरसिं राउटेलाले एक एक विकेट झार्नुभयो । जितसँगै एपिएफले नौ खेलबाट १४ अङ्क बनायो । अन्तिममा रहेको कोशीले समान खेलबाट एक जित र आठ हारको सामना गर्दै प्रतियोगिता सक्यो ।