• २७ वैशाख २०८१, बिहिबार

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

blog

नविनसुवेदि

सुर्खेत, जेठ २० गते । देशको आन्तरिक तथा बाह्य सुरक्षादेखि विकास निर्माण, विपद व्यवस्थापन तथा उद्दारमा महत्वपूर्ण भुमिका खेल्दैआएको नेपाली सेनलाले नागरिकसँगै रहेर सामाजिक कार्य गर्दैआएको छ । सोहीअनुसार पश्चिम कमाण्ड हेडक्वाटरको ‘कमाण्ड प्रतिबद्धता २०७८’ घोषणा गरेको थियो । 

शुक्रवार सेनाले विद्यालयमा आयोजना गरेको समुद्घाटन कार्यक्रममा पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले गुर्भाकोट नगरपालिकाकाका नगर प्रमुख हस्त पुनमार्फत विद्यालयलाई भवन हस्तान्तरण गर्नु भएको हो । 

नागरिक–सैनिक सम्बन्ध विस्तारका लागि क्यूआइपी योजनाअनुरुप कमाण्डको जिम्मेवारी क्षेत्र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ८ वटा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सेनाले सुर्खेतमा चार कोठे विद्यालय भवन निर्माण गरेको छ । सेनाले सुर्खेतको गुर्भाकोट नगरपालिका –१४ गुमीस्थित जनसंयुक्त आधारभुत विद्यालयमा करिव ७० लाख रुपियाँको लागतमा चार कोठे भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । 

जम्मा लागत ७० लाखमध्ये सेनाले २८ लाख ९१ हजार दुई सय ५६ बराबरको रकम सहयोग गरेको छ भने बाँकी नगरपालिका लगायत अन्य निकायको सहयोग रहेको छ । एकसय १५ दिनमा सम्पन्न गर्नेगरी निर्माण कार्य सुरु भएको भवन निर्माणमा पश्चिम कमाण्ड अन्तर्गत कालीबक्स गण (ई) बाट ३५ जना विभिन्न दर्जाका प्राविधिक जनशक्ति खटिएका थिए । भवन हस्तान्तरण कार्यक्रमा पश्चिम कमाण्ड सेनापति शाहीले यस्ता परियोजनाबाट नागरिक–सैनिक सम्बन्ध विस्तार मात्र नभई शिक्षा क्षेत्रको विकासका लागि पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शाहीले भन्नुभयो, ‘हाम्रो यो सानो प्रयासले विद्यालयका कलिला बालबालिकाको मस्तिष्कमा नेपाली सेनाप्रति सकारात्मक सोच पैदा हुनेमा विस्वस्त छौं ।’ यस्तै, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले विद्यालयमा थप फर्निचर, कम्प्युटरलगायत भौतिक पूर्वाधार विकासका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले देशको सुरक्षा गर्ने जिम्मा लिएको सेनाले गरेको सामाजिक कार्यले जनतामा सकारात्मक सन्देश प्रभावह भएको बताउनुभयो । नगर क्षेत्रभित्र रहेका हरेक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा आफू लागिपरेको उल्लेख गर्दै विद्यालयलाई आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।