प्रेमराज सिम्खडा
कालीकोट, चैत १३ गते । कालीकोटको रास्कोट नगरपालिकाको मुल सडकको स्तरउन्नतीको काम सुरु भएको छ । संघ सरकारको चार करोड ५० लाख सहयोगमा नगरको मुल सडक खण्डको वडा नं ४ लडेखोलादेखि पोत्मारासम्मको पाच दशमल पाँच अर्थात साढे पाँच किलोमिटर सडकको स्तरवृद्धीको काम सुरु भएको हो ।
सडक स्तरवृद्धीको काम घाग्री निमार्ण सेवाले गरिरहेको छ । यस अघि प्रदेश सरकारको बजेटमा दश किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का भएर काम भइरहेको थियो ।
अघिल्लो प्रदेश सरकारको पहलमा स्तरवृद्धी हुन छुट्याइएको खण्ड यसपालिका बजेट व्यवस्थापन गरेर काम सुरु भएको हो । नेकपा (एमाले)का नेता दयाराम सिम्खाडाले लडेखोलादेखि पोत्मारासम्म सडक स्तरउन्नतीको काम भइरहेको बताउनुभयो ।
हिउँदेवाली पनि नमरोस र काम पनि अवरोध नहोस् भनेर खाली ठाउँमा काम सुरु गराएको र गहुँवाली किसानले भित्र्याएपछि सबै तिर सडक चौडा पार्ने र नाला बनाउने काम हुने बताउनुभयो ।
नेता सिम्खाडाले कसैले शङ्का गर्न जरुरी नभएको भन्दै अघिल्लो सरकारले सम्बोधन हुन नसकेको सडकखण्ड यसपालिका संघ सरकारसँगको आग्रहमा बजेट व्यवस्थापन भएर निमार्ण व्यवसायीलाई काम गर्न लगाएको बताउनुभयो ।
गहुँ पाक्दासम्म निमार्ण व्यवसायी खाली बस्नु पर्ने भएपछि काम हतार हुने हुँदा अहिले जता खाली छ त्यो खण्डमा काम गर्ने र गहुँवाली भित्र्याएपछि बाँकी कामको सुरुवात गरिएको सिम्खाडाको भनाइ छ । घाग्री निमार्ण सेवाका सञ्चालक छिरिङ लामा सडक स्तरवृद्धीका लागि चार करोड ५० लाखमा ठेक्का स्वीकृती भएर काम सुरु गरिसकेको बताउनुभयो । त्यहाँ खेती भएकाले अहिले खाली खण्डमा काम भइरहेको छ ।
बाली किसानले काटेपछि एकैतिरबाट काम सक्दै जाने लामाले बताउनुभयो । यो सडक स्तरवृद्धीको काम सक्नका लागि अब ११ महिना मात्र बाँकी छ । वर्षातको समयमा काम रोकिन सक्ने भएकाले अहिले हतार गरेर खाली खण्ड बनाउदै गएको र बाली काट्ने वितिकै अरु काम हुने बताउनुभयो ।
सरकारले सडकको लगत कट्टा नगरेका कारणले निमार्ण व्ययसायीले काम गर्न पाएका छैनन् भने अर्को तर्फ नागरिकले बैंकिङ कारोवार समेत गर्न पाएका छैनन् ।
घरको आँगनमा सडक छ, तर नगरपालिकाले लगत कट्टा नगरेकाले नापीमा नक्सा देखिदैन, नक्सा नहुँदा बैंकले लगानी नगर्ने भएकाले थप समस्या नागरिकलाई रहेको छ । मुल सडकको लगत काट्टा गर्नुको सट्टा रास्कोट नगरपालिकाले अहिले लेकाली क्षेत्रको जङ्गलमा नापीका कर्मचारीलाई खटाउने गरेको छ । लेकाली क्षेत्रमा सडक विस्तार गर्नुपर्ने भन्दै कर्मचारी त्यहाँ खटाएकाले मुल सडककै लागत कट्टा हुन नसकेको कर्मचारीकै भनाइ छ ।