राधाकृष्ण डुम्रे
वालिङ(स्याङजा), चैत १३ गते । स्याङ्जाको वालिङ नगरपालिका–६ का कृषक शोभाकान्त पाण्डे निक्कै उत्साहित हुुनुहुन्छ । आफूले उत्पादन गरेको आलु वालिङमा सञ्चालनमा आएकोे शीतभण्डारमा राख्न पाएपछि पाण्डे खुसी हुनुभएको । उमेरले ७० काटिसक्नु भएका कृषक पाण्डे निरन्तर कृषि कर्ममा हुनुहुन्छ । उत्पादन गरेको मध्ये दुई हजार केजी आलु बीउको रुपमा प्रयोग गर्न शीत भण्डारमा राखेको पाण्डेको भनाइ छ ।
कृषक पाण्डे मात्रै होइन वालिङको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थाले सञ्चालनमा ल्याएको शीतभण्डारमा ३३० जना कृषकले आलु भण्डारण गरेका छन् ।
वालिङ–५ का कृषक हुमनाथ लामिछानेले तीन हजार पाँच सय किलोग्राम आलु भण्डारण गर्नु भएको सहकारीका व्यवस्थापक युवराज रेग्मीले जानकारी दिनुभयो । लामिछाने सबैभन्दा धेरै आलु भण्डारण गर्ने कृषक बन्नुभएको हो ।
एक हप्ता भित्र आलु भण्डारणका लागि ल्याउन सूचना गरिएको पहिलो दिनमा नै क्षमताभन्दा धेरै आलु आएको व्यवस्थापक रेग्मीले बताउनुभयो । उहाँका अनुसार शीतभण्डारमा ४५ टन अर्थात चार हजार पाँच सय किलो आलु भण्डारण गरिएको छ । शीतभण्डारको क्षमता ५२ टनको भए पनि केही कम आलु राखिएको उहाँले बताउनुभयो ।
वालिङको शीतभण्डारमा आलु राख्न नपाएका कृषकहरुलाई जिल्लाका अन्य शीतभण्डारमा राख्ने व्यवस्था मिलाइएको व्यवस्थापक रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि सहजीकरणको काम भइरहेको छ ।”
सहकारीले आफ्ना सदस्यहरुका लागि एक बोरा अर्थात ५० केजी आलु भण्डारण गरे वापत चार सय लिने गरेको छ भने सदस्य नरहेका कृषकहरुका लागि ४४० रुपिँया निर्धारण गरिएको सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताउनुभयो । कृषकले उत्पादन गरेको आलुलाई न्यूनतम शुल्कमा राख्ने व्यवस्था मिलाइएको अध्यक्ष अर्यालले बताउनुभयो । यो रकमबाट बिजुली, आलुको बोरा फर्काउने लगायतका लेवर आदिमा खर्च गरिने उहाँको भनाइ छ ।
प्रति महिना बिजुलीको बिल मात्रै ३५ देखि ४० हजारसम्म आउने गरेको अध्यक्ष अर्यालले बताउनुभयो । कृषकलाई सहजता गराउँदा संस्थाको सञ्चालन खर्च समेत नउठेको उहाँको गुनासो छ । आठ महिना अर्थात आगामी २०८२ कात्तिक सम्म आलु भण्डारण गर्नु पर्दा खर्च धान्नै समस्या आउने गरेको भन्दै अध्यक्ष अर्यालले राज्यले कृषकको हितमा काम गरिरहेका सहकारीलाई छुट्टै रुपमा हेरेर सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्लामा एक हजार टन क्षमताको शीतभण्डारण आवश्यक रहेको उहाँको भनाइ छ । केही समय अगाडिसम्म आलु भण्डारणका लागि भइरहवा जानु पर्ने बाध्यता रहेको भन्दै सहकारीले काम सुरु गरेपछि आफ्नै ठाउँमा आलु भण्डारण गर्ने अवसर कृषकले पाएको अर्यालले बताउनुभयो ।
सबै सहकारी संस्थालाई एकै रुपमा हेरिदा कृषकको हकहित र उत्पादनको बजारीकरण गर्दै आएका सहकारीहरुलाई समस्या परेको अध्यक्ष अर्यालले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा जस्ता उत्पादन र बजारीकरणमा काम गर्दै आएका सहकारीहरु समस्यामा परेका छन् ।” देशको आर्थिक विकास र उत्पादन बढाउन यस्ता सहकारीलाई विशेष अनुदान दिनु पर्नेमा उहाँको जोड छ ।
शीत भण्डारणमा राखिएको आलुमध्ये अधिकांश बीउ आलु रहेको छ भने केही खानका लागि प्रयोग हुने आलु समेत रहेको सहकारी संस्थाले जनाएको छ ।