• १३ चैत २०८१, बुधबार

पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्छ : मन्त्री शाही

blog

जर्मनीको बर्लिनमा जारी पिटर्सबर्ग क्लाइमेट डाइलगमा सहभागी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसहित अन्य ।

बर्लिन (जमनी), चैत १२ गते । विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग क्लाइमेट डाइलग’ आयोजना गर्दै आएको छ।

विशेष गरी जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

जलवायु वार्ताहरूमा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औं संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही सहभागी हुनुभएको छ।

सम्बोधनमा मन्त्री शाहीले पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने, कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने, जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्नेजस्ता विषयहरूमा प्राथमिकता दिन अनुरोध गर्नुभयो। साथै, नेपालमा आयोजना हुन लागेको ‘सगरमाथा संवाद’ बारे अवगत गराउनु भएको जानकारी मन्त्री शाहीको सचिवालयले दिएको छ । 

कार्यक्रममा मन्त्री ऐनबहादुर शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायु विज्ञ सल्लाहकार मञ्जित ढकालसमेत सहभागी हुनुहुन्छ।


यसैबीच, जर्मनीको बर्लिनमा जारी पिटर्सबर्ग क्लाइमेट डाइलगको साइडलाइनमा  मन्त्री शाहीले कोप २९ का अध्यक्ष तथा अजरबैजानका वातावरण मन्त्री मुक्टार बाबायेभसँग द्विपक्षीय वार्ता गर्नुभयो । सो अवसरमा मन्त्री शाहीले कोप २९ को सफल आयोजनाका लागि धन्यवाद व्यक्त गर्दै ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा गर्नुभयो।