• १३ चैत २०८१, बुधबार

गोरखापत्रकर्मी अधिकारीलाई दुई लाख रुपियाँको दिगो विकास पुरस्कार

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार ग्रहण गर्नुहुँदै गोरखापत्रकर्मी प्रकृति अधिकारी।

काठमाडौँ, चैत १२ गते। गोरखापत्रकर्मी प्रकृति अधिकारीलाई दुई लाख रुपियाँ राशीको दिगो विकासका लागि जीवन विकास पुरस्कार, २०८१ प्रदान गरिएको छ। 

मङ्गलबार दिगो विकास समाज नामको गैर सरकारी संस्थाले राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गर्नुभएको हो। पत्रकारिताको क्षेत्रबाट गुणस्तरीय शिक्षामा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार वितरण गरिएको हो। 

मङ्गलबार आयोजित कार्यक्रममा अधिकारीसहित मोरङ्को विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयलाई पाँच लाख राशीको पहिलो तथा सिन्धुलीको कमलामाईस्थित जनज्योती माध्यमिक विद्यालयलाई तीन लाख रुपियाँ राशीको दोस्रो पुरस्कार वितरण गरिएको छ। 

पुरस्कार वितरण गर्दै पूर्व राष्ट्रपति भण्डारीले सबै नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान सरकारी लक्ष्य हाँसिल गर्न यस क्षेत्रसँग सरोकार राख्ने सबैसँग सहकार्य हुनुपर्ने बताउनुभयो। 


अधिकारी २०५५ सालदेखि गोरखापत्रमा आबद्ध हुनुहुन्छ। नेपाल प्रेस इन्स्टिच्युट र खोज पत्रकारिता केन्द्रबाट तालिम प्राप्त उहाँले राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयबाट तीन पटक प्रसंशापत्र प्राप्त गर्नुभएको छ। शिक्षा विभागबाट राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, गोरखापत्र संस्थानबाट उत्कृष्ट समाचारदाता, श्री ३ महाराज देवशमशेर प्रतिष्ठानबाट देवशमशेर– गोरखापत्र पत्रकारिता पुरस्कार, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२६२ बाट रोटरी जर्नो अवार्ड, मदन भण्डारी मेमोरियल कलेजबाट मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार लगायतका पुरस्कार पाइसक्नुभएको छ। 

उहाँले नेपाल सरकारबाट २०७६ सालमा प्रबल जनसेवा श्री चतुर्थ श्रेणी प्राप्त गर्नुभएको छ। उहाँका एसएलसीको इतिहास, राणाकालीन शिक्षा र दिल्ली सम्झौता नामक पुस्तक प्रकाशित छन्।