गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १८ गते । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले अनिवार्य अवकाश पाउनुभएको छ । तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि २०८१ असोज २० गतेदेखि प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेका राउतले ६५ बर्से उमेरहदका कारण अनिवार्य अवकाश पाउनुभएको हो ।
राउत २०७३ साउन १७ मा सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो । उहाँ डेढ वर्षदेखि सर्वोच्च न्यायालयको नेतृत्वमा हुनुहुन्थ्यो । राउतको अवकाशपछि सर्वोच्चमा अब रिक्त न्यायाधीश सङ्ख्यासमेत तीन पुगेको छ । राउतको अवकाशसँगै कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वतः पाउनुहुने छ । रोलक्रम अनुसार नै प्रधान न्यायाधीश नियुक्त भएमा मल्ल प्रधान न्यायाधीश बन्नुहुने छ । अहिलेकै उमेरहदको व्यवस्था कायमै रहेमा मल्लको कार्यकाल २०८५ कात्तिक ९ गतेसम्म कायम रहने छ ।