• ३० वैशाख २०८१, आइतबार

बाढीबारेको पूर्व सूचनाले जोगायो स्थानीयको धनमाल

blog

खाँडो खोलामा जडान गरिएको पूर्व सूचना उपकरण । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, जेठ २० गते । मनसुन सुरु भएलगतै बाढी प्रभावित क्षेत्रवासीलाई चिन्ताले पिरोलिएको हुन्छ । वर्षा भएपछि नदी र खोलामा आउने बाढीले जनधनको ठूलो क्षति ब्यहोर्नुपर्दा मनसुन लाग्नेबित्तिकै चिन्ता बढ्छ । बाढी आउने नआउने पूर्व जानकारी नहुँदा वर्षातमा यस्तो क्षति ब्यहोर्नुसँगै जाग्राम बस्नुपर्ने बाध्यता स्थानीयलाई छ । 

पछिल्लो दुई वर्षयता बाढी आउने पूर्वसूचना प्राप्त हुन थालेपछि चिन्तासँगै जनधनको ठूलो क्षति जोगाइरहेको छ । यसैक्रममा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीको बेल्ही बजारका पसलेलाई हरेक बर्षको बाढीको समयमा धेरै नोक्सानी ब्यहोर्दैआएका थिए । जेठको अन्तिम सातादेखि भदौको अन्तिम सातासम्म बाढी र डुबानको त्रासबीच पसल सञ्चालन गर्नुपरेको बेल्ही चौकका किराना पसले बौवा यादवले बताउनुभयो ।

बेल्ही बजार होचो स्थानमा रहेकाकारण सामान्य बाढीमा पनि डुबान हुँदैआएको छ । त्यसमाथि खाँडो खोलामा बाँध नहुँदा बाढीले सधैं डुबान गर्नेगर्दा लाखौंको सामान नष्ट हुनेगरेको पसले यादव विगत सम्झिदै बताउनुभयो ।  

पछिल्लो दुई वर्षयता पूर्व सूचना प्राप्त हुनथालेपछि सामान नष्ट हुनबाट बचेको स्थानीयहरुको भनाई छ ।  युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाले बाल केन्द्रीत विपद् जोखिम न्यूनिकरण कार्यक्रम अन्तर्गत खाँडो खोलामा समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली जडान गरेपछि बेल्हीका ब्यापारी तथा ब्यवसायीलाई राहत भएको छ । 

ईसिमोड तथा सबल नेपालको प्राविधिक सहयोग, युनिसेफको आर्थिक सहयोगमा गाउँपालिकाले खाँडो खोलामा बाढी पूर्व सूचना प्रणाली जडान गरेपछि बाढी कति र कहिले आउनेबारेमा समयमै जानकारी प्राप्त हुनेगरेको स्थानीयको भनाई छ । 

जिल्लाको रुपनी गाउँपालिकास्थित खाँडो खोलाको पुलमा जडान गरिएको पूर्व सूचना प्रणालीले हरेक पाँच मिनेटमा बाढीको लेभलको बारेमा जानकारी दिनेगरेको छ । रुपनीबाट तिलाठीसम्म बाढी पुग्न करिब अढाई घण्टा लाग्नेगरेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो । माथिल्लो भेगबाट तल्लो तहसम्म पानी पुग्न अढाई घण्टा लाग्ने र सामान तथा मानिसलाई सुरक्षित स्थानमा राख्न पर्याप्त समय पाउने भएकाले समयमै ब्यवस्थापन गर्न सजिलो भएको अधिकृत झाले बताउनुभयो ।  

पूर्व–पश्चिम राजमार्गको रुपनी गाउँपालिकास्थित खाँडो खोलाको पुलमा पूर्व सूचना प्रणालीको उपकरण जडान गरिएको छ भने खोला किनारमा रहेको केयर टेकरको घरमा डाटा अपलोडिङ्ग युनिट जडान गरिएको छ । खोलामा खतराको अवस्थासम्म बाढी आएमा केयर टेकरको घरमा रहेको डाटा अपलोडिङ्ग युनिटमा साइरन बज्ने र केयर टेकरले सूचना संयन्त्र (कम्युनिकेशशन च्यानल) मा रहेका सरोकारवालालाई खबर गर्ने प्रणालीको विकास गरिएको छ ।

बाढी पूर्व सूचना प्रणाली अन्तर्गत सञ्चार संयन्त्रको विकास गरिएको र उपकरणले बाढी आएको जनाउ दिएलगत्तै संयन्त्रमा भएका ब्यक्तिलाई खबर गरी सतर्क गराउने गरिएको छ । बाढीबाट प्रभावित हुनेगरेका वडाका वडा अध्यक्ष, सदस्य, सुरक्षा निकाय तथा स्थानीय ब्यापारीसमेतलाई सूचना संयन्त्रमा राखी समयमै खबर गर्ने गरिएको छ । 

“बाढी पूर्व सूचना प्रणाली अत्यधिक प्रभावकारी हुनेभएकाले जडान गरिनु पर्छ भनेर भारतको बिहार भ्रमणबाट सिकें” गाउँपालिका निवर्तमान अध्यक्ष सतिशकुमार सिंहले बताउनुभयो । “बिहारको सितामढीमा पूर्व सूचना प्रणालीसम्बन्धी अध्ययन अवलोकन भ्रमणमा गएकोबेला त्यहाँ अत्यधिक प्रभावकारी भएको देखेर हामीले पनि जडान गरेका हौंं” उहाँले भन्नुभयो ।

खाँडो खोलाको बाढीबाट सबैभन्दा बढी लौनियाँ, तिलाठी र सकरपुरा प्रभावित हुनेगरेको छ । खाँडो खोलामा जडान गरिएको पूर्व सूचना प्रणालबिाट करिब दुई हजार पाँचसय घरधुरीका १३ हजार ५०० ब्यक्ति लाभान्वित भइरहेको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो ।