रामपुर समाचारदाता
रामपुर (पाल्पा), माघ २९ गते । २७ वर्षअघिसम्म निस्दी गाउँपालिकाको खादर गाउँमा कुँडुले घर मात्रै थिए । खादरसंगै मगर समुदायको बाहुल्यता रहेको पाल्पाका अधिकांश बस्तीमा परम्परागत घुमाउरो घर अर्थात् कुँडुले घर प्रशस्तै देखिन्थे ।
पछिल्ला दिनमा प्रविधिको विकाससँगै जीवनशैलीमा आएको परिवर्तन र खरको छानो हाल्न झन्झटिलो हुने भएकाले आधुनिक शैलीका घरप्रति आकर्षण बढेसंगै पछिल्लो समय कुँडुले घर हराउने अवस्थामा पुगेको छ । निस्दी–३ का वडा सदस्य मनबहादुर बयम्बुका अनुसार खादर गाउँमा ८० बढी घर परिवारको बसोबास रहेकोमा अहिले कुँडुले घर चार वटा मात्र रहेका छन् । उहाँले भन्नुभयो, “घर बनाउन सक्नेहरू कुँडुले घर भत्काएर जस्ताले छाएको तथा पक्की घर निर्माण गरेका छन् । अब चार वटा मात्र कुँडुले घर रहेको छ ।”
एउटा मात्र ढोका, खरको छानो भएको एकतले घुमारा घरमा बस्नका लागि छुट्टाछुट्टै कोठा नहुने भएकाले स्थानीय सिमेन्ट र जस्ताको घरप्रति आकर्षित भएका हुन् । स्थानीय दिलबहादुर ढेङ्गाले नयाँ घर बनाउन नसक्दा कुँडुले घरलाई नै मर्मत गरी बस्दै आएको बताउनुभयो । निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले पर्यटन प्रवर्धनसँगै स्थानीय संस्कृतिको जगेर्नाका लागि गाउँपालिकाले कुँडुले घर संरक्षण कार्यक्रम सञ्चालन गरे पनि स्थानीय आकर्षित हुन नसकेको बताउनुभयो ।
उहाँले कुँडुले घरमा छानो लगाउन अनुदानको व्यवस्था गरे पनि आधुनिक घरतर्फ आकर्षित हुने गरेको बताउनुभयो । काउले डाँडा घुम्न आउने पर्यटक खादरमा रहेको परम्परागत कुँडुले घरमा तस्बिर खिच्न आकर्षित हुने गर्छन् ।
कुँडुले घरमा जाडोमा न्यानो र गर्मीमा बस्नका लागि सित्तल हुने स्थानीयको भनाइ छ । जिल्लाको निस्दी, पूर्वखोला, माथागढी, रैनादेवी छहरालगायतका स्थानमा अहिले नगण्य मात्रामा कुँडुले घर रहेका छन् ।