• १३ चैत २०८१, बुधबार

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णालीलाई १४८ रनको लक्ष्य

blog

घोराही (दाङ),  चैत १२ गते ।  दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई १४८ रनको विजयी लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै ४ चौका र १ छक्का हाने । यस्तै दिलीप नाथले ५९ बलमा २ चौकासहित ३४ रन बनाए ।

यसैगरी पुलिसका लागि सागर ढकालले अविजित  २२ रन, अमित श्रेष्ठ ७, गुल्सन झाले ८, ललितनारायण राजवंशीले ७, करण केसीले ६ तथा श्रवण यादवले ११ रन बनाए ।

बलिङतर्फ कर्णालीका लागि अर्जुन चनाराले ४, कप्तान दिवान पुनले ३ तथा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनील धमलाले एक एक विकेट लिए ।

दाङमा पहिलो पटक आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै  पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णाली प्रदेश पाँचौँ स्थानमा छ । रासस