गोरखापत्र समाचारदाता
ललितपुर, पुस १० गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबारदेखि आरम्भ भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनको तयारी, प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची बुझाउनेसहित समसामयिक सन्दर्भमा निर्णय गर्न बैठक बसेको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सम्बोधनपछि सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्ताव पेस गर्दै पुस १६ गतेका लागि तय भएको वडाअधिवेशन पुस २१ गते र क्षेत्रीय अधिवेशन २३ गते सम्पन्न गर्न प्रस्ताव गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस पार्टीको १५ औँ महाधिवेशन तोकिएकै मितिमा गर्ने प्रस्ताव गरेको छु । महाधिवेशनको मिति चलाउन पाइँदैन । अन्यको हकमा सामान्य फेरबदलको प्रस्ताव गरेको छु ।”
महामन्त्री थापाले प्रदेश निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, जिल्ला र सात वटै प्रदेशको अधिवेशन फागुन २१ गतेको निर्वाचनपछि गर्न सकिने प्रस्ट पार्नुभयो । उहाँले यसअघि १४ औँ महाधिवेशनपछि प्रदेश र जिल्ला अधिवेशन गरिएको प्रस्ट पार्दै अप्ठ्यारोकै बिच महाधिवेशन हुने र महाधिवेशन रोक्न खोजिए विशेष महाधिवेशनको प्रव्रिmया सुरु हुने बताउनुभयो ।
महामन्त्री थापाले निर्वाचन आयोगले तोके अनुसार पुस १३ गतेभित्र समानुपातिकको सूची बुझाउने विषयमा पनि निर्णय हुने बताउनुभयो । साथै उहाँले दबाबबिच काम गर्ने प्रयास भइरहेको र कांग्रेसको व्रिmयाशील सदस्यता नवीकरण र नयाँ वितरण कार्य केही स्थानमा नियत राखेरै रोकिएको बताउनुभयो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सहमहामन्त्री महेन्द्र यादव र बद्रीप्रसाद पाण्डे तथा सदस्यहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, नारायणप्रकाश साउद र आनन्दप्रसाद ढुङ्गानाले बोल्नुभयो । बैठक बिहीबार पुनः बस्ने छ ।
चारबुँदे निर्देशन
यसैबिच महामन्त्री थापाले ‘क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण गर्न’ ७७ जिल्ला सभापतिलाई चारबुँदे निर्देशन जारी गर्नुभएको छ । उहाँले व्रmम सङ्ख्यासहितका नयाँ क्रियाशील सदस्यता फाराम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई पठाइसकिएको जानकारी दिनुभएको छ ।
उहाँले नयाँ क्रियाशील सदस्यता फाराम वितरण गर्दा जिल्ला कार्यसमितिको तर्फबाट प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका कार्यसमिति र वडा कार्यसमितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न निर्देशन दिनुभएको हो । महामन्त्री थापाले नयाँ क्रियाशील सदस्यता १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड पठाइसकेकाले मापदण्ड पुगेका व्यक्तिलाई सहज ढङ्गले नयाँ व्रिmयाशील सदस्यता वितरण गर्न पनि निर्देशन दिनुभएको छ ।