रमेश रावत
अछाम, चैत १२ गते । झण्डै दुई वर्षदेखि रिक्त रहेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विक नियुक्त हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा विकलाई नियुक्त गरेको हो ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चैत ७ गतेको मन्त्रिस्तरको निर्णयले उहाँलाई नियुक्ति गरिएको हो ।
के हो रामारोशन पर्यटन क्षेत्र
रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती यहाँका मानिस सुनाउँछन् । एकथरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन् ।
रामारोशन गाउँपालिका–५ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा मैदानलाई जनाउँछ ।
यो क्षेत्रमा बाह्रवटा ताल र अठार वटा ठुला–ठुला मैदानहरु छन । प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा २२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । बाह्रवटा तालहरुमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो । जसको आकार अंग्रेजी अक्षर ‘सि’ जस्तो छ । जुन बाटुले तालभन्दा माथि छ ।
यहाँको सानो तालमा ताउने ताल हो । यो हाल पुरिने अवस्थामा छ । जिगाले तालभन्दा माथि पनि धेरै तालहरु छन् । यो तालभन्दा केहि परपट्टी ठुला–ठुला चौर्हरु छन । जून अठार खण्डका नामले प्रख्यात छन् । यस्ता मैदानहरु मध्येमा किनेमिने मैदानसबैभन्दा ठुलो हो । जसको बिच भएर कैलाश खोला बग्दछ । यो सम्भवत अछामकै ठुलो मैदान हो । यसको केहि माथि धेरै नै ठुलो पट्टी रोशन मैदान छ ।
समुन्द्र सतहदेखि २०५०देखि ३७९२ मिटर उचाईमा फैलिएको रामारोशन इतिहास, प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैचा हो । कैलाश खोलाको मुहान रहेको रामारोशनमा प्रशस्तै गुफा र झरना छन् । साथै अनेकन जङ्गली जनावर र पंक्षीको बास्थान समेत रहेको यहाँ थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन् ।
महादेव र पार्वतीको बासस्थानको रूपमा रहेको मानिने रामारोशनमा सिमसार क्षेत्र पनि छ । रामारोशन क्षेत्रलाई पर्यटकीय, धार्मिक र ऐतिहासिक अनुसन्धान गर्न पनि अति महत्त्वपूर्ण स्थानको रुपमा विकास गर्न सकिन्छ । परापूर्वकालमा राक्षसलाई जिगाले तालको बिचमा रहेकोे खम्बामा बाँधेर मारेको भन्ने जनश्रुतिसँगै नजिकै रहेको मन्दिरमा पूजा गरेमा मनोकमना पूरा हुने रामारोशनवासीको विश्वास छ ।
परापूर्वकालमा रामारोशन क्षेत्रमा भगवान् शिव र पार्वतीले स्नान गरेको र त्यही बास गरेको भन्ने किंवदन्ती पाइन्छ ।
अछामको उत्तर पूर्वी क्षेत्रमा पर्ने रामारोशन क्षेत्रले जिल्लाको बिच भाग भएर बग्ने कैलाश नदीलाई पनि जन्म दिएको छ । रामारोशन क्षेत्रका १२ तालमध्ये सबैभन्दा ठुलो ताल जिंगाले ताल हो । यो ताल पूरै घुम्न तीन–चार घण्टा लाग्छ । ठुला मैदानको बिच भाग भएर बग्ने कैलाश नदीले अझ यहाँको सुन्दरतालाई उचाइ दिएको छ । रामारोशनमा सिमसार क्षेत्र पनि छ ।
कसरी पुग्ने ?
धनगढी, दीपायल, साँफेबगर, जयगढसम्म पक्की सडक छ । जयगढदेखि कच्चि सडक हुँदै पालिकाको सदरमुकाम मुजाबगर हुँदै रामारोशन पुग्न सकिन्छ ।
धनगढी, दीपायल हुँदै खप्तड जाँदा त्यहाँबाट रामारोशनसम्म आउने अर्को पैदल रुट पनि छ ।
काठमाडौंबाट सबैभन्दा छोटो काठमाडौं, सुर्खेत, अछामको विनायक हुँदै ठाटिखान–ताली हुँदै रामारोशन पुग्न सकिन्छ । मोटरबाईकमा अछामको साईखोला दिल्ली अढाई घण्टामा रामारोशन ताल पुग्न सकिन्छ । त्यसका लागि विनायक, कालापानी हुँदै जान सकिन्छ । त्यस्तै सुर्खेत हुँदै कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट पनि रामारोशन पुग्न सकिन्छ ।