जीवछ यादव
लहान, पुस ९ गते । फागुन २१ गते हुने निर्वाचनको लागि जनता समाजवादी पार्टी नेपालले प्रत्यक्षतर्फका लागि सिराहा क्षेत्र नम्बर १ बाट सत्यनारायण यादव र सिराहा क्षेत्र नम्बर ३ बाट अशेश्वर यादवको एकल नाम सिफारिस गरिएको छ ।
सिराहा १ बाट समानुपातिकतर्फ पूर्वमन्त्री रहनुभएका राजलाल यादव, भोलाप्रसाद चौधरी, जितेन्द्रप्रकाश महतो, खडगनारायण चौधरी र ललितादेवी यादवको नाम सिफारिस गरिएको जसपा नेपाल सिराहा १ का क्षेत्रीय समिति अध्यक्ष बेचना यादवले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले सिरहा १ बाट प्रत्यक्षतर्फ सिफारिस गरिएको रामसुन्दर चौधरीको नाम जिल्ला कार्य समतिले हटाएपछि काँग्रेका युवा नेताहरुले आपत्ति जनाएका छन् । सिराहा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको पुरानो नेता रामसुन्दर चौधरीको सिफारिस भएको नामलाई सिरहा जिल्ला कार्य समितिले हटाएपछि नेपाली काँग्रेसका महासमति सदस्य अरुण केसी, सिराहा १ (ख) का सभापति धर्मदेव यादव सचिवद्वय श्यामसुन्दर यादव र शरणदेव यादवले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभयो ।
उहाँहरुको अनुसार क्षेत्रीय समितिले सिफारिस गरिएको नामलाई जिल्ला कार्यसमितिले हटाएर अन्याय गरेकाले न्यायको लागि केन्द्रीय कार्य समितिमा निवेदन दिएका छौं ।
यता नेपाली काँग्रेस कार्य समित सिराहाले प्रत्यक्षतर्फ सिराहा १ बाट पूर्वमन्त्री पदमनारायण चौधरी र लहान नगरसमितिका सभापति सञ्जय यादव, सिराहा २ बाट काँग्रेस सिराहा सभापति रामचन्द्र यादवको एकल नाम सिफारिस भएको जिल्ला सचिव शैलेन्द्र यादवले बताउनुभयो ।
उहाँको अनुसार सिराहा ३ बाट रामबाबु यादव र मधुसुदन यादव र सिराहा ४ बाट संविधान सभाका सदस्य रहनुभएका गणेश मण्डल र नेपाली कााग्रेसको केन्द्रीय सदस्य मञ्जु खाँणको नाम सिफरिस गरिएको छ ।
समानुपातिकतर्फ सिराहा १ बाट नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उषा राउत, नेपाल विद्यार्थी सङ्घको सहमहामन्त्री रहनुभएका प्रमेश्वर साह र शर्मिला पोखरेलको नाम सिफरिस भएको छ ।
यसैगरी सिराहा २ बाट पूर्वमन्त्री रहनुभएकी हाल अष्ट्रेलियाका राजदूत चित्रलेखा यादवको एकल नाम सिफरिस भएको छ । सिराहा ३ बाट उपेन्द्रकुमार यादव, कौशल मण्डल, अरुण सदाय कुसुमदेवी यादव र दिनेशकुमार साह, सिराहा ४ बाट अरुण सिंह, रमेश न्यौपाने र नागेश्वर भुडेलको नाम सिफारिसमा परेको छ ।
यसैगरी राष्ट्रसभाको लागि सिराहा जिल्लाबाट सूर्यनारायण यादव, वसन्ती सदाय र अमियकुमार यादवको नाम सिफारिस गरी मधेश प्रदेश समितिमा पठाएको नेपाली काँग्रेस सिराहाले जनाएको छ ।