• १० पुस २०८२, बिहिबार

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जना गम्भीर घाइते

blog

भवानीदत्त भट्ट
कञ्चनपुर, पुस १० गते ।
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जना गम्भीर घाइते हुनुभएको छ । बुधबार साँझ नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा सु.प.प्र.०२–००४–प ६५८९ नम्बरको स्कुटरमा सवार दुई जना गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार, भीमदत्त नगरपालिका –५ बनगाउ साइपन नहर नजिक विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्याक्टको ठक्करबाट स्कुटरमा सवार भीमदत्त नगरपालिका–५ का २१ वर्षीय राहुल तिरुवा र १७ वर्षीय बिपना जोशी गम्भीर घाइते हुनुभएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते हुनुभएका उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि कैलालीको धनगढीस्थित निर्सग अस्पतालमा उपचारका लागि लगिएको छ । उनिहरुको टाउँको तथा शरिरमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई आइसियुमा राखिएको छ ।

बुधबार साँझ भीमदत्त नगरपालिका –५ बनगाउँ साइपन नजिक स्कुटरमा सवारी उनीहरूलाई ठक्कर दिएर ट्याक्टर फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त सडक भएर यात्रा गरेका एक दर्जन बढी ट्याक्टर चालकमाथि सोधपुछ गरिएको जनाएको छ । यद्यपि ट्याक्टर र चालकको पहिचान भने भई नसकेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।