• १० पुस २०८२, बिहिबार

प्रतिनिधि सभा विघटन

मुद्दामा थप साठी सांसद सरिक हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका सांसदले दायर गरेको रिटमा सरोकारवालाका रूपमा थप ६० सांसदलाई सरिक हुने अनुमति सर्वोच्च अदालतले दिएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले उहाँहरूलाई मुद्दाको कामकारबाहीमा सरिक हुन दिने आदेश गरेको हो । नेपाली कांग्रेसका ५७ तथा अन्य दुई दल र एक स्वतन्त्र गरी विघटित प्रतिनिधि सभाका ६० सांसदले मुद्दामा सहभागी हुनका लागि मङ्गलबार पूरक निवेदन दिएका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पूरक निवेदन दिने निवेदकलाई मागबमोजिम मुद्दाका कामकारबाहीमा सरिक हुने अनुमति इजलासबाट भएको जानकारी दिनुभयो । यसअघि विघटित सभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीलालगायत आठ सांसदले मङ्सिर २३ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । रिटमा संवैधानिक इजलासले पुस २ गते कारण देखाऊ आदेश जारी गरेको थियो । 

सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४७ बमोजिम सरोकारवालाका रूपमा मुद्दाको कारबाहीमा सरिक हुन पाऊँ भनी निवेदन दिइएको हो । नियमावलीको नियम ४७ (२) को व्यवस्था अनुसार निवेदन उचित लागेमा अदालतले कामकारबाहीमा संलग्न गराउने आदेश दिन सक्ने व्यवस्था छ । 

प्रतिनिधि सभा पुनस्र्थापनाको माग लिएर नेकपा (एमाले) का तर्फबाट समेत सर्वोच्चमा रिट दायर भई विचाराधीन छ । एमालेले संस्थागत निर्णय गरेर विघटित प्रतिनिधि सभाका दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालमार्फत मङ्सिर १० गते सर्वोच्चमा रिट दर्ता गरेको थियो । मङ्सिर १७ गते संवैधानिक इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो । विघटन र सरकार गठनसँग सम्बन्धित अन्य १६ रिट निवेदन पनि सर्वोच्चमा विचाराधीन छन् ।

 निर्वाचन अधिकृत नियुक्त

यसैबिच निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोग पदाधिकारीको बैठकले निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीशलाई पुस १५ गतेदेखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको हो । नियुक्त भएका निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्यथालनी गर्ने छन् । 

आयोगका अनुसार कोशी प्रदेशमा भीष्मराज प्रसाई, मधेश प्रदेशमा सुभाषबाबु पुरी, बागमतीमा गीता श्रेष्ठ र गण्डकीमा हिमलाल बेल्बासे निर्वाचन अधिकृत नियुक्त हुनुभएको हो । त्यसै गरी लुम्बिनीमा प्रकाशप्रसाद पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापा निर्वाचन अधिकृत नियुक्त हुनुभएको हो । 

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचन माघ ११ गते हुने छ । निर्वाचनका लागि पुस तेस्रो साता उम्मेदवारको मनोनयन दर्ता हुने छ ।